कचनकवल। झापाको कचनकवल गाउँपालिका–४, लोधाबारीमा सशस्त्र प्रहरी बल नेपालको नयाँ बोर्डर आउट पोस्टको ड्युटी पोस्टको औपचारिक उद्घाटन गरिएको छ।
सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत पार्ने उद्देश्यले निर्माण गरिएको चेक पोस्ट स्व. लालबहादुर विष्टको सम्झनामा उनका परिवारको आर्थिक सहयोगमा निर्माण गरिएको हो।
आज आयोजित एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले शिलालेख अनावरण गरी चेक पोस्टको उद्घाटन गरे। अध्यक्ष राजवंशीले स्व. विष्ट परिवारको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “सामाजिक भावना र सुरक्षाप्रतिको प्रतिबद्धताको प्रेरणादायी उदाहरण हो यो सहयोग। गाउँले पनि गर्व गर्न सक्ने कार्य भएको छ।”

पोस्ट निर्माणका लागि स्व. विष्टका पिता कर्णबहादुर विष्ट र आमा चन्द्रमाया विष्टले एक लाख रुपैयाँ नगद सहयोग सशस्त्र प्रहरी बोर्डर पोस्ट केचनाका प्रमुख सागर राईलाई हस्तान्तरण गरेका थिए। सो रकमले चेक पोस्टको पूर्वाधार निर्माण तथा आवश्यक सामग्री व्यवस्थापनमा टेवा पुर्याएको हो।
स्व. लालबहादुर विष्ट एक समाजप्रेमी र निष्ठावान व्यक्ति थिए। गाउँ र समुदायप्रतिको उनको योगदान स्मरणीय रहँदै आएको छ। उनको सम्झनामा परिवारले चेक पोस्ट स्थापना गर्न सहयोग गर्नु समाजप्रतिको उत्तरदायित्वप्रति गहिरो उदाहरण बन्न पुगेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी तथा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले सुरक्षाका सवालमा नागरिक-सुरक्षा संयोजन आवश्यक रहेको सन्देश दिएको स्थानीय नेताहरूले बताएका थिए।
चेक पोस्टबाट अब सीमावर्ती क्षेत्रको सुरक्षा निगरानी थप प्रभावकारी हुने विश्वास गरिएको छ। तस्करी नियन्त्रण, आपराधिक गतिविधिमा नियन्त्रण, तथा आपतकालीन सहयोगमा चेक पोस्टको भूमिका अत्यन्त महत्वपूर्ण हुने जनाइएको छ।