झापा। झापाको दमक नगरपालिका २ बेलडागीस्थित वन कार्यालय नजिक रहेको बस्तीमा गए राति करिब १० बजे जंगली हात्ती पसेर घरहरूमा क्षति पुर्याएको छ। जंगलबाट पसेका दुईवटा हात्तीले करिब एक घण्टा त्रास फैलाएका थिए।
हात्तीको आक्रमणबाट टंकबहादुर राईको टिनको छाना र टाटीले बारिएको भुइँतल्लाको घरमा क्षति पुगेको छ। हात्तीले टाटी बेरा भत्काएर भित्र राखिएको एक बोरा चामल र एक ड्रम जाँड खाएको जनाइएको छ। घटनाबाट करिब रु १०,००० बराबरको क्षति भएको अनुमान गरिएको छ।
कुलबहादुर चौहानको टिनले बारिएको मन्दिरकोठा हात्तीले भत्काएको छ। हात्तीले सो कोठाबाट करिब १५–२० झुत्रा मकै खाएको र करिब रु ५,००० बराबरको क्षति पुर्याएको बताइएको छ।
त्यसैगरी, चन्द्रकला खड्काको टिनको छाना र टाटीले बारिएको भान्सा घरको टाटी बेरा भत्काएर हात्तीले भित्र राखिएको एक बोरा चामल र पाँच केजी दाल खाएको छ। यस घटनाबाट पनि करिब रु ५,००० बराबरको क्षति भएको अनुमान गरिएको छ।
राजु लिम्बु र पुष्प खतिवडाको भान्सा घरमा समेत हात्तीले सामान्य रूपमा क्षति पुर्याएको छ। घरको टिन केही मात्रामा भत्किएको जनाइएको छ। राति ११ बजे तिर ती हात्तीहरू पुनः जंगलतर्फ फर्किएका थिए।