काठमाडौं । धरान उपमहानगरपालिकाको बजेटको सिलिङ तोक्न आज कार्यपालिका बैठक बस्ने भएको छ । बुधवार तोकिनुपर्ने बजेटको सिलिङ कार्यपालिका बैठकमा नेकपा एमालेको असहमतिपछि स्थगित गरिएको थियो ।
बजेटका केही शब्दमा चित्त नबुझेको भन्दै एमालेले थप समय मागेपछि सिलिङ तोक्ने बैठक आजका लागि सारिएको थियो । एमालेले सिलिङमा रहेका केही शब्द र अंशमा असहमति जनाएको हो ।
यसअघि बजेट प्रक्रिया सुरु गर्न ढिलाइ भएपछि मेयर हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको ‘अवशिष्ट अधिकार’ प्रयोग गरेर भए पनि बजेट ल्याउने चेतावनी दिएका थिए ।
धरान उपमहानगरको ३० सदस्यीय कार्यपालिकामा नेकपा (एमाले) स्पष्ट बहुमतमा छ । एमालेसँग १८, नेपाली काँग्रेस ७, नेकपा माओवादी केन्द्रसँग उपप्रमुख सहित २, राप्रपासँग २ सदस्य र मेयर हर्क साम्पाङ एक स्वतन्त्र छन् ।
आर्थिक वर्ष २०८१/८२ का लागि असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि धरानले अहिले सम्म पनि बजेट ल्याउन सकेको छैन । जसमा मेयर हर्क साम्पाङको पनि निरोध भइरहेको छ ।
संवैधानिक प्रावधानअनुसार स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हुन्छ । समयमै बजेट पारित नहुँदा चालु आर्थिक वर्षका लागि विकास निर्माणका काम र अन्य प्रशासनिक खर्चहरू सञ्चालन गर्न कानुनी जटिलता उत्पन्न भएका छन् ।



















