कचनकवल, भदौ ८ – अखिल नेपाल महिला संघ कचनकवल गाउँ कमिटीको आयोजनामा आइतबार तीज मिलन तथा सामुदायिक विद्यालयका यस वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका आमालाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कचनकवल २ स्थित सुकुनाडोगी सामुदायिक भवनमा सञ्चालन भएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य अनेमसंघ जिल्ला कमिटी सदस्य तथा कचनकवल इञ्चार्ज भगीरथा प्याकुरेलले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता अनेम संघ कचनकवल गाउँ कमिटि अर्पना कट्टेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य तथा युवा कमिटी केन्द्रीय अध्यक्ष सुवेक्षा अधिकारी, प्रमुख वक्ता नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य हरि राजवंशी, विशिष्ट अतिथि नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, साथै विशेष अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको उपस्थिति रहेको थियो।

करिब तीन सय जनाको सहभागिता रहेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी तथा महिला संघका सदस्यहरूको सहभागिता उल्लेख्य थियो। सहभागीहरूले तीज पर्वले महिलाबीच आपसी मेलमिलाप र एकताको भावना अभिवृद्धि गर्नुका साथै सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
प्रमुख अतिथि सुवेक्षा अधिकारीले महिलाको सामाजिक, राजनीतिक र आर्थिक सशक्तीकरणका लागि महिला संघ निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै तीज पर्वलाई “सांस्कृतिक मात्र नभई महिलाको आत्मबल प्रदर्शन गर्ने अवसर” को रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले सम्मानित आमाहरूले छोराछोरीलाई शिक्षा दिलाउन गरेको संघर्ष प्रेरणादायी भएको भन्दै बधाई दिनुभयो।
प्रमुख वक्ता हरि राजवंशीले ग्रामीण भेगमा सामुदायिक विद्यालयले शिक्षाको पहुँच विस्तारमा दिएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाउन अभिभावक, शिक्षक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले “आमा सम्मान” जस्तो कार्यक्रमले समाजलाई शिक्षा र मेहनतको मूल्यबारे सचेत गराउने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि बसन्त बानियाले महिला संघको सक्रियता, तीज मिलन र आमा सम्मानलाई उदाहरणीय भन्दै यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा क्षेत्रमा महिलाको योगदान र त्यागलाई सदैव कदर गर्नुपर्ने कुरा औंल्याउनुभयो।
त्यस्तै गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले आफ्ना भनाइमा “हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्नुपर्छ, यसलाई भड्किलो बनाउन हुँदैन। गाउँपालिका चार्डपर्वको संरक्षण र प्रवर्द्धनमा सधैं कटिबद्ध छ,” भन्नुभयो।
कार्यक्रममा यस वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीका आमालाई सम्मान गरिएको थियो। आयोजक समितिका अनुसार गाउँपालिकाका विभिन्न विद्यालयका १७ आमा सम्मानित भएका हुन्। सम्मानित आमाहरूले आफ्ना अनुभव बाँड्दै छोराछोरीलाई शिक्षित बनाउन गरेको संघर्ष र प्रयासबारे प्रकाश पारे।
कार्यक्रम सञ्चालन हेमा तामाङले गर्नुभएको थियो।