पालिका सन्देश । बुद्धशान्ति गाउँपालिकाले नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, कोशी प्रदेश सरकारको सहयोग तथा स्वास्थ्य कार्यालय झापाको प्राविधिक समन्वयमा सातै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई एक/एक थान डिजिटल बीपी सेट र एक/एक थान डिजिटल ग्लुकोमिटर हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र यादव साथै स्वास्थ्यकर्मी , जनप्रतिनिधि तथा सरोकारवालाको समेत उपस्थिति रहेको थियो।
यस कार्यक्रममार्फत गाउँपालिका क्षेत्रभित्र देखिन सक्ने सम्भावित नयाँ नसर्ने रोगका चिन्ह वा लक्षण भएका बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने उद्देश्य राखिएको छ। स्थानीय बस्तीमा सहज रूपमा स्वास्थ्य सेवा पुगोस् भन्ने लक्ष्यसहित स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको जनाइएको छ।
गाउँपालिकाले गाउँ–टोलमा स्वास्थ्य परीक्षणका लागि आउने स्वयंसेविकालाई सहयोग गर्न सम्पूर्ण स्थानीयवासीलाई आग्रह समेत गरेको छ।