निर्वाचन आयोगले २०७९ सालमा समानुपातिक सूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने सूचना प्रकाशित गरेको छ । उपनिर्वाचन कार्यक्रम सम्बन्धमा आयोगले बुधवार जारी गरेको एउटा सूचनामा समानुपातिक सूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने कानुनी व्यवस्था रहेको सूचना प्रकाशित गरेको हो । यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का प्रस्तावित उम्मेदवार रहेका डा.लेखजंग थापाको विषयमा चासो बढेको छ ।
तर आयोगले नाउपाको समानुपातिक सूचीबाट उनको नाम हटिसकेकाले उम्मेदवार बन्न योग्य रहेको बताएको छ । थापा अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समानुपातिक बन्द सूचीमा रहेका थिए । यस्तै थापा पाँच महिनाअघि मात्र रास्वपा प्रवेश गरेर अहिले आन्तरिक चुनावबाट उम्मेदवार प्रस्तावित भएका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार विद्यामान कानुन बाधक नरहेको बताए ।
‘प्रचलित कानुन अनुसार कुनै दलको समानुपातिक बन्द सूचीमा रहेका व्यक्ति प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको उम्मेदवार बन्न अयोग्य हुन्छ । तर सम्बन्धित दलको केन्द्रीय समितिको बैठकले बन्द सूचीबाट नाम हटाएको निवेदन आयोगसमक्ष पेस गरेमा उम्मेदवार बन्न मिल्छ । लेखजंग थापाको हकमा नाउपाले निवेदन दिइसकेकाले बन्द सूचीबाट हटाएर बाँकी नाम अध्यावधिक भइसकेको छ । उनी उम्मेदवार बन्न कानुनले रोक्दैन,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा १४ को उपदफा २ मा दोहोरो उम्मेदवार हुन नपाउने व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न नपाइने उल्लेख छ ।