
सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदै जाँदा चार दिनको अन्तरालमा तीन कैदीबन्दीको ज्यान गएको छ । कारागार प्रशासनका अनुसार हाल १ हजार ७९५ कैदीमध्ये ४ सयभन्दा बढी कैदी ज्वरोबाट प्रभावित भएका छन् ।
बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएको थियो ।
यसअघि भदौ १५ गते कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रामदेव उराउ र भदौ १६ गते लागुऔषध मुद्दामा कैद काटिरहेका सागर राईको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
हाल १९ जना कैदी उपचारका लागि विभिन्न अस्पतालमा भर्ना छन् । सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको निमित्त जेलर राम निरौलाले जानकारी दिए ।
उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागार परिसरमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।