शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पोखरा पुगेका छन् । उनी सुरक्षाकर्मी नलिएरै पोखरा पुगेका हुन् । आज बिहान मन्त्रालयबाट निस्केका मन्त्री पुन काठमाडौं अन्तरराष्ट्रिय विमानस्थल हुँदै पोखरा गएका थिए ।
मन्त्री पुन जहाजबाट पोखरा हुँदै पोखराको नदीपुरस्थित घर पुगेका छन् । उनी पोखरा जान लागेको मन्त्रालयमा कसैलाई थाहा थिएन । ‘मन्त्री ज्यू सुरक्षाकर्मी समेत नलिएरै घर जानुभएछ, हामीले पनि पछि थाहा पायौं,’ मन्त्रालयका एक अधिकारीले भने ।
पोखरा विमानस्थलमा अवतरण भएपछि मन्त्री पुन सर्वसाधारण नागरिक जसरी नै ट्याक्सी चढेर घर गएको जनाइएको छ । उनले सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने घोषणा गरेका थिए । मन्त्री भएपछि उनी केशरमहलस्थित मन्त्रालयमै बस्दै आएका छन् ।