काठमाडौं। फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आजराति देखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण गएरातीदेखि काठमाण्डौ उपत्यका सहित देशभर लगातार मुसल्धारे वर्षा भईरहेको छ ।
अहिले मुख्यगरी मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको छ । मधेशका पर्सा, सर्लाही, रौतहट, धनुसा, महोत्तरीमा धेरै पानी परेको छ । यस्तै धनकुटा, खोटाङ, सिन्धुली, मकवानपुर, काभ्रे, काठमाण्डौ, चितवन, जाजरकोटमा मध्यमदेखि ठूलो वर्षा भईरहेको महाशाखाले जनाएको छ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा एक सय ४४ मिलिमिटर वर्षा भएको छ । बारामा एक सय ४० दशमलव ४, रौतहटको गौर वर्षा मापन केन्द्रमा एक सय २९ मिलिमिटर र महेशपुरमा एक सय २४ मिलिमिटर वर्षा भएको छ । विभागले बारा र पर्सामा ठूलो वर्षा भएको जनाएको छ ।
मुख्यगरी देशको मध्य क्षेत्रमा बढी वर्षा भएको छ । नवलपरासीपूर्वदेखि तराई हँुदै धनकुटासम्म लगातार वर्षा भएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाण्डौ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटर भन्दा माथि वर्षा भएको छ । ५० भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको महाशाखाले जनाएको छ ।