झापा (पालिका सन्देश) । स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुनः रिफर लिनु नपर्ने व्यबस्था गरेको छ । बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको छ ।
स्वास्थ्य बिमा बोर्डले बीमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन नयाँ व्यबस्था लागु गर्दै कडा रोगको फलोअप उपचारका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक स्तरको मिति २०८२ असोज २७ बीमितले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रक्रियागत समस्या र गुनासाको सम्बोधन गर्न नौ बुँदे निर्णय गर्दै यस्तो निर्णय गरेको बोर्डका उपसचिव पुण्य माया गुरागाईले जानकारी दिए ।
बोर्डका उपसचिव गुरागाईले अति गरिब, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाका हकमा पनि सोही सुबिधा लागु हुने बताए ।
यस्तै, आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला (जटिल प्रसूति वा सिजेरियन) र दम, सिजोफ्रेनिया, बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगका बिरामीलाई पनि फलोअप उपचारका लागि पुनः प्रेषण आवश्यक नपर्ने उनको भनाइ छ ।
एउटै रोगको लागि गरिएको प्रेषण सेवाले सोही रोगको फलोअपमा पर्याप्त ठहरिने बोर्डले उल्लेख गरेको छ । उहाँका अनुसार आकस्मिक सेवा लिई त्यसै रोगको फलोअप गर्नुपर्ने भएमा पनि नयाँ रिफर आवश्यक पर्दैन । यदि प्रेषण भई उपचारको क्रममा अर्को रोगको पनि परीक्षण आवश्यक भएमा सोही अस्पतालभित्रै अर्को विभागमा रिफर मार्फत सेवा लिन सकिनेछ । तर, उक्त विभागमा पुनः फलोअप गर्नुपर्ने अवस्थामा भने नयाँ रिफर आवश्यक हुनेछ । बोर्डले प्रेषण केन्द्रबाट पनि सेवा अपुग भएको अवस्थामा नजिकैको अर्को अस्पतालमा प्रेषण गर्न निर्देशन दिएको छ ।
साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पताललाई व्यबस्था मिलाउन आग्रह गरेको छ । अस्पतालले बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति वा अवधि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र हरेक पटक क्लेम गर्दा पहिलो रिफर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यबस्था गरेको छ ।
स्वास्थ्य बीमा सेवामा आउने बीमितको सुविधा वृद्धि र प्रशासनिक जटिलता घटाउने उद्देश्यले यो निर्णय गरेको बोर्डले जनाएको छ । बोर्डले ३७७ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकनुका साथै ९८ रिफरल स्वास्थ्य संस्था तोकेको छ । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ । बोर्डमा हाल ९४ लाख बिमित आबद्ध छन् ।
 
								 
															

















