काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशभर साधारणतया बदली रहेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राती भारतको आन्द्र प्रदेशमा प्रवेश गरी सकेको र तत् पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै बुधबार राती देखि कार्तिक १५ गते शनिबारसम्म नेपालको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने देखिएको विभागले जनाएको छ ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।


















