२६ वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उनी भक्कानिन्छन् । २७ वर्षका श्रीमान् देवकुमार सुवेदीको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उनका हरेक दिनहरू पीडामा बितेका छन् । आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उनी सुनाउँछन् ।
‘दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनुहुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ’ आपूm र श्रीमानले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको उनले बताए । भदौको तेस्रो हप्ता जेन्जी आन्दोलन हुने हल्ला सुरु भयो । आन्दोलन कस्तो होला ? अन्योल थियो । देवकुमार पनि श्रीमती र छोरीसहित ललितपुरको सानेपामा रहेको सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए ।
कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उनी कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गरेका थिए । पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो । भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौँका अधिकांश कार्यालय सञ्चालनमै थिए । देवकुमार पनि कार्यालयमै व्यस्त भए । तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौँमा कर्फ्यू आदेश जारी भयो ।
अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए । सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो । ‘बिहानै अफिसको मोटामोटी काम सकेर उहाँ कोठामा आउनुभयो,’ पार्वतीले भनिन्, ‘मैले आज अफिस खुल्छ त ? भनेर सोधेँ । उनले खै भन्ने जवाफ दिनुभयो । हामी कोठामा नियमित काममा लागे । हाम्रो नौ वर्षकी छोरी छिन् । उनी मसँगै थिइन् ।’ देवकुमारको कामबाट आएको तलबले मात्र उनीहरुलाई खर्च कम हुन्थो ।
पार्वतीले भनिन्, ‘थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ ।’ यसरी पनि नहुने भयो भनेपछि उनले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाए । घटनाको दिन स्मरण गर्दै पार्वती भन्छिन्, ‘त्यो दिन सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पुर्याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर निस्कनुभयो ।’
देवकुमारले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाएको पनि श्रीमती पार्वतीले बताइन् । उनले भनिन्, ‘त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उहाँले गाडी नपाएपछि घर फर्कनुभएछ । पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु भन्दा उहाँले मान्नुभएन । आन्दोलन हेरेर आउँछु भनेर निस्कनुभयो । आन्दोलनमा होमिएकाहरुलाई उहाँले खाना फलफूल बाँडेर आउनुभएको रहेछ । मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नुभएन ।’
ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँडेको पार्वतीले सुनाइन् । पार्वती भन्छिन्, ‘मैले नजानुस् हिजो त्यस्तो घटना भएको छ । भनेर सम्झाउन खोजेँ तर उहाँले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ । हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ ? देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे । म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उहाँ हिँड्नुभयो । म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए ।’
त्यो देखेपछि पार्वतीको मनमा पनि चिसो पस्यो । ‘त्यतिबेलासम्म मेरो दिदी पनिसँगै हुनुहुन्थ्यो । दिदीलाई अनुरोध गरेर श्रीमानलाई खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नुहुन्न, उहाँ आउनुहुन्छ भनेपछि हामी कोठामा फर्कियौँ,’ पार्वतीले भनिन् । कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जानुपर्यो भन्दा उनको मनमा चिसो पस्यो ।
उनी सम्झन्छन्, ‘म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ । मैले के भयो दाजु ? भनेर सोधेँ, उहाँले भाइलाई खुट्टामा गोली लागेको छ, जानुपर्यो भन्नुभयो । उहाँले म सम्हालिन्न भनेर झुटो बोल्नुभएको रहेछ । यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला । हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन् । उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भन्नुभयो ।’
श्रीमानको दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुनेपछि उनलाई के भयो, केही थाहा छैन । भोलिपल्ट बिहान ९ बजेतिर उनको मृत्यु भयो भनेर डाक्टरहरुले भने त्यसपछि उनी मुर्छित भइन् । पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उनी बताउँछन् । यस घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ । श्रीमानले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको उनले उनले बताइन् ।
आफूले श्रीमान् गुमाए पनि उनको बलिदानी खेर जानु नहुने उनको माग छ । ‘उहाँजस्ता धेरैको ज्यान गयो,’ पार्वतीले भनिन्, ‘उहाँहरुले देशको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो ज्यान दिनुभएको हो । त्यो अन्त्य भए मात्र उहाँहरुको बलिदानीले सार्थकता पाउँछ ।’ अब बन्ने सरकारले जेनजीको एजेन्डा अनुसार नै काम गर्नुपर्ने उनले मागसमेत राखे । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुसँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उनको अनुरोध छ ।
‘यहाँ एक व्यक्ति मरेको मात्र छैन,’ उनले भने, ‘बाआमाको सन्तान खोसिएको छ । श्रीमतीको सिउँदो पुछिएको छ । सन्तान टुहुरा बनेका छन् । राज्यले यति ठूलो क्षतिको नजरअन्दाज गर्न मिल्दैन । यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत हैन ।’ श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त छन् । पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो ।
२०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बितेको पीडा ताजै छ । सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गरेका हुन् । हक्की स्वभावका उनले छिट्टै भावनात्मक र आक्रामक हुने गरेका साइला दाजु भानुभक्तले सुनाए । जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उनको भनाइ छ ।
उदयपुर जिल्लाको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो । गत साउनमा कार्यालयको कामले देवकुमार घर आएको थियो । त्यो भेट नै उनका बुबा र आमासँगको अन्तिम भेट भयो । साउन अन्तिममा घर आइपुगेका देवकुमारले छानो चुहिएको देखे । झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर गएको बुबा उजिरबहादुर सम्झन्छन् ।
हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाए । उजिरबहादुर कान सुन्दैनन् भने आमा यशोदाको फोक्सोमा समस्या छ । अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौँ जाने गरेको उनले सुनाए । कान्छो छोरा बितेपछि पनि उनी काठमाडौँ पुगेको रहेछ तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सकेनन् ।
‘यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो । यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ–सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ,’ उनले भने, ‘यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो ।’ कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उनको दुःखेसो थियो ।
राष्ट्रका लागि ज्यान दिने श्रीमानको कृति रहने गरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतीको माग छ । सङ्घ सरकारले सहिद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उनको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उनको आग्रह छ । राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउँछन् । घटनापछि सरकारले गरेको घोषणअनुसार १५ लाख आर्थिक सहायता दिने निर्णय बमोजिम पीडित परिवारलाई उक्त रकम हस्तान्तरण भइसकेको छ ।



















