झापा : झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई दुर्लभ प्रजातिका कछुवा आइतबार उद्धार गरी बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ। स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका यी फरक–फरक प्रजातिका कछुवालाई उनले केही समयदेखि आफ्नै घरमा राख्दै आएका थिए।
वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलको टोलीले महतको घरबाट कछुवा उद्धार गरेको हो। संरक्षणकर्मी लुइँटेलका अनुसार दुर्लभ प्रजातिका कछुवाको संरक्षण अत्यावश्यक भएकाले तत्काल उद्धार प्रक्रिया अघि बढाइएको हो।
उद्धारपछि कछुवालाई डिभिजन वन कार्यालय झापा बुझाइएको छ। वन कार्यालयमार्फत ती कछुवा अर्जुनधारास्थित कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने संरक्षणकर्मी लुइँटेलले जानकारी दिए।



















