काठमाडौं । भिजिट भिसामा विदेश गएका ठूलो संख्यामा नेपालीहरू लामो समय बित्दा पनि स्वदेश नफर्केको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश गएका नेपालीका सम्बन्धमा गरेको अनुसन्धानमा यस्तो देखिएको हो ।
अख्तियारको अनुसन्धान अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रूपमा तीर्थराज भट्टराई रहँदाको समयमा भिजिट भिसामा विदेश गएका ठूलो संख्यामा नेपाली विदेशीएको लामो समय बित्दा पनि नेपाल नफर्केका हुन् ।
भट्टराई २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ गतेसम्म झन्डै आठ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृत रहेका थिए ।
भट्टराई अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृत हुँदा एक लाख ५३ हजार ९७४ जना नेपाली भिजिट भिसामा विभिन्न देश गएको अख्तियारको अनुसन्धानले देखाएको छ ।
यो विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले २०८२ भदौ ४ गते पत्रमार्फत अख्तियारलाई उपलब्ध गरेको थियो ।
अख्तियारका अनुसार, सो अवधिमा भिजिट भिसामा विदेश गएका एक लाख ५३ हजार ९७४ जनामध्ये ४२ हजार ३५७ जना श्रमका हिसाबले जोखिमपूर्ण देशहरू गएको देखिन्छ ।
श्रमका हिसाबले जोखिमपूर्ण देश जानेमध्ये २३ हजार ३४९ जना युनाइटेड अरब इमिरेट्स (यूएई), सात हजार १६१ जना ओमान, दुई हजार ७१९ जना कतार गएका थिए । यसरी भिजिट भिसामा विभिन्न देश गएकामध्ये १६ हजार ७६९ जना महिलासहित ३३ हजार २२९ जना नेपाली २०८२ साउन २९ गतेसम्म नेपाल फर्केका छैनन् ।
ती नेपाली नागरिकहरू कहाँ कस्तो अवस्थामा छन्, कसरी गए, कोको मार्फत गए, भिजिट भिसामा गएर हालसम्म किन फर्किएनन् लगायतको विषयहरुको सम्बन्धमा अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईसमेतले वदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा मानिस विदेश पठाउँदा घुस लिई दिई भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा सेटिङमा भिजिट भिसामा विदेश जाने प्रतिमहिला ४० हजार रुपैयाँ र प्रतिपुरुष २० हजार रुपैयाँ उठाउने गरिएको खुलेको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानले भट्टराईले प्रमुख अध्यागमन अधिकृतको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा बदनियपूर्ण तरिकाले बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेमप्रसाद सुवेदी समेतसँग सेटिङ एवं एक आपसमा साँठगाँठ गरी २५७ नेपालीलाई भिजिट भिसामा विदेश पठाएको देखाएको छ ।
“विभिन्न ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा विदेश गएका यात्रीहरूको ‘भोइड’ हुने टिकटहरू एउटै ‘प्यासेन्टर नेम रेकर्ड’ दुईवटा नम्बरको टिकट छन्,” अख्तियारले भनेको छ ।
यस्तो किसिमका टिकट हुँदाहुँदै ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्ने कर्मचारी र अध्यागमन अधिकृतले विदेश प्रस्थानको अनुमति दिएको देखिएको, यस सम्बन्धमा ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्ने निकाय तथा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संलग्न कर्मचारीहरूको बदनियतको सम्बन्धमा थप छुट्टै अनुसन्धान गर्नु पर्ने देखिएको अख्तियारले जनाएको छ ।
राष्ट्रसेवकको बदनियतपूर्वक संलग्नतामा सेटिङ गरी भिजिट भिसामा विदेश पठाउने ट्राभल एजेन्सीहरूको सम्बन्धमा पनि अनुसन्धान चलिरहेको अख्तियारको भनाइ छ ।
नेपालको विमानस्थल प्रयोग गरी तेस्रो देश जाने भारतीय नागरिकहरूले भारतीय दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने व्यवस्था रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भारतीय नागरिकहरूलाई समेत बदनियतपूर्वक सेटिङ गरी एनओसीबिना नै ती मुलुक पठाएको र सोबाट तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईलगायत अध्यागमन कार्यालयका कर्मचारीहरूले ठूलो रकम असुली गरेको हुन सक्ने देखिएको अख्तियारले औँल्याएको छ ।
के कति भारतीयहरू एनओसीबिना नै तेस्रो देश गए ? यसबाट के कति रकम असुली भयो र यो रकम कहाँ कहाँसम्म पुग्यो लगायतको विषयमा अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।



















