- तीर्थराज तिम्सिना
बुद्धशान्ति (पालिका सन्देश) । कोशी प्रदेशमै धान खेतीका लागि उर्वरभूमि मानिएको झापा जिल्लामा धानको उत्पादकत्व बर्षेनी बढ्दै गएको पाइएको छ । धानखेती घटेपनि धानको उत्पादकत्व भने बर्षेनी बढिरहेको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाएको छ । झापामा बर्खे धानको चार बर्षको उत्पादकत्वको तथ्यांकलाई हेर्दा २०७८÷०७९ मा ४.८५, ०७९÷०८० मा ४.८९, ०८०÷०८१ मा ५.०५ थियो । यो क्रमशः बढ्दै ०८१÷०८२ मा ५.०७३ पुगेको थियो भने चालू आवमा ५.१९ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् ।
पछिल्लो समय उन्नत जातको धानको बीउ राख्ने चलन बढेको छ । पहिला लामो समयसम्म एउटा बीउ प्रयोग हुन्थ्यो भने अहिले किसानले धानको बीउ फेरिफेरि लगाउन थालेका छन् । जसका कारण पनि उत्पादकत्व बढेको देखिन्छ,’ विष्टले भने, ‘झापामा रासायनिक मलको प्रयोग पनि बढेको देखिन्छ । यसले पनि उत्पादकत्व बढाएको छ ।’
क्षेत्रफल भने घट्दो
उत्पादन बढेपनि झापामा प्रत्येक वर्ष खेतीको क्षेत्रफल भने घट्दै गएको छ । ज्ञान केन्द्रको तथ्यांकअनुसार बर्षेनी धान लगाउने क्षेत्रफल घटिरहेको छ । झापामा यस वर्ष किसानले ७२ हजार ७४२.६५ हेक्टर क्षेत्रफलमा धान रोपेका छन् । जबकि चार वर्षअघि अर्थात् आव ०७८÷०७९ मा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खेधान लगाउँदै आएका थिए । चार वर्षको अवधिमा १४ हजार ७५७.३५ हेक्टर क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । यस्तै, आव ०७९÷०८० मा ८७ हजार ५०० हेक्टर, ०८०÷०८१ मा ७३ हजार ९५० हेक्टर र ०८१÷०८२ मा ७५ हजार ४५९.१८ हेक्टर क्षेत्रफलमा धान लगाएकोे कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । यस वर्ष झापामा तीन लाख ५४ हजार ३५१.९२ मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
घट्नुका कारण
झापामा प्रत्येक वर्ष धानखेती घट्नुको मुख्य कारण बढ्दो शहरीकरण र बस्ती विस्तार भएको ज्ञान केन्द्र प्रमुख विष्टले बताए । त्यसबाहेक जलवायु परिवर्तनका कारण पनि खेत बाँझै रहने अवस्था रहेको उनको भनाइ छ । समयमा पानी नपर्दा खेती हुन सकेको छैन । झापामा ६६ प्रतिशत भूभागमा नहर तथा बोरिङमार्फत सिँचाइ हुन्छ । बाँकी खेतीमा भने आकासेपानीकै भर पर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘अहिले खेतीयोग्य जमिनमा प्लटिङ हुँदा धानखेती केही घट््दो क्रममा छ,’उनले भने,‘यस वर्ष भने समयमा पानी नपर्दा धानखेती घटेको देखिन्छ ।’
किसानको कुरा अर्के
यता धान खेती घट्नुका कारण किसानले भने धानको उचित मूल्य नपाउनु बताउँदै आएका छन् । उचित मुल्य नपाएकै कारण बर्षेनी क्रमशः धानखेती घट्दो क्रममा रहेको बुद्धशान्ति–३ का रामप्रसाद तिम्सिनाले बताएका छन् । धानखेतीमा गरेको लगानी पनि उठ्न नसक्दा खेत बाँझै छाड्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।
समर्थन मूल्य जहिल्यैको समस्या
सरकारले चालू आर्थिक वर्षमा मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । यस्तै, मोटा धानकोे समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ । तर, किसानले भने यो वर्ष मध्यम धानको मूल्य प्रतिक्विन्टल अधिकतम तीन हजार र मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५० सम्म मात्र पाइरहेको ज्ञान केन्द्र प्रमुख विष्ट बताउँछन् । सरकारले समर्थन मूल्य कार्यान्वयन गर्न नसक्दा किसान मर्कामा परेको किसानहरुले बताउँदै आएका छन् । file photo



















