लागू पदार्थले बालबालिकाको भविष्य खोसिँदै

  • इन्द्र प्रसाद ओली

सूर्य उदाउँदा एक पटकमा आधा गोलार्द्ध मात्र प्रकाशमय हुन्छ, तर लागू पदार्थको दुष्परिणामले एकै पटकमा सारा गोलार्द्धलाई छोएको छ। समस्या जहाँ र जसको भए पनि यसको आयामले संसारको कुनै कुना अछूत छैन। लागू पदार्थको उत्पादन, वितरण, ओसारपसार तथा सेवन कार्य जङ्गलमा लागेको डढेलो जस्तै हो, जो एक ठाउँबाट सानो रूपमा सुरु हुन्छ र भयावह रूपमा फैलिन्छ। यसले सुकेको र हरियो भन्दैन, श्रीखण्ड र उत्तिस छुट्याउँदैन, यसको कुनै सीमा हुँदैन। जङ्गलमा लागेको आगोले चरा, पशुपन्छी कसैलाई नबक्से जस्तै यस विकराल महामारीबाट मानव सभ्यताका कुनै पाटाहरू अछूत रहन सक्दैनन्। बालबालिका, किशोर–किशोरी, वयस्क, शिक्षित–अशिक्षित, धनाढ्य–सामान्य परिवार भन्दैन, न त यसले जात, लिङ्ग, धर्म वा वर्ण नै छुट्याउँछ।

लागू पदार्थले बालबालिकाको भविष्य खोसिँदै छ। बालबालिका वर्तमानका साझेदार, सृजनशील र भोलिका कर्णधार एवं मेरुदण्ड हुन्। उनीहरूको हातमा कलम हुनुपर्ने बेला, दुर्भाग्यवश आज केही हातमा चुरोट, बिँडी, खैनी, मधु, भोला र गाँजा हुँदै अझ खतरनाक कडा लागू पदार्थ देखिन थालेका छन्। यो केवल एक परिवारको समस्या होइन; यो हाम्रो समाज, शिक्षा प्रणाली र राज्य संयन्त्रकै लागि गम्भीर चेतावनी हो।

EPIC EPIC EPIC

विद्यालय जाने उमेरमा लागू पदार्थप्रति आकर्षण बढ्नु ज्यादै पीडादायी हो। सामान्य जिज्ञासाबाट सुरु हुने यस्ता रुचिहरूलाई सही दिशामा डोर्‍याउन नसक्दा त्यसले लतको रूप लिन पुग्छ। साथीभाइको दबाब, अभिभावकसँग संवादको कमी, डिजिटल माध्यममार्फत सहज पहुँच र पढाइ एवं जीवनको बढ्दो मानसिक तनावले विद्यार्थीलाई गलत बाटो रोज्न बाध्य बनाइरहेको छ।

लागू पदार्थको प्रभाव क्षणिक देखिए पनि यसको क्षति दीर्घकालीन हुन्छ। पढाइमा ध्यान नलाग्ने, अनुशासनहीनता बढ्ने, स्वास्थ्य बिग्रने र अन्ततः अपराधतर्फ धकेलिने जोखिम यससँगै आउँछ। यसरी एक जना किशोर वा किशोरी दुर्व्यसनको लतमा फँस्नु वा बिग्रनु भनेको एउटा परिवार मात्र होइन, समाज र राष्ट्रकै भविष्य कमजोर हुनु हो।

यस समस्याको समाधान खोज्दा केवल प्रहरी कारबाही वा कानुनी दण्डलाई मात्र अगाडि सार्नु पर्याप्त हुँदैन। मुख्य कुरा रोकथाम हो। परिवारले समय दिनुपर्छ, विद्यालयले जीवन-कौशल र नैतिक शिक्षामा जोड दिनुपर्छ र राज्यले कडा लागू पदार्थको आपूर्ति शृङ्खला नियन्त्रणमा कठोरता देखाउनुपर्छ। साथै, लतमा फँसेकाहरूका लागि सहज उपचार र पुनर्स्थापनाको व्यवस्था अनिवार्य छ। उपचार पश्चात् सीप सिकाएर दक्ष बनाउनु उत्तिकै जरुरी छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, बालबालिकालाई अपराधीको रूपमा होइन, संरक्षण र मार्गदर्शन चाहिने नागरिकको रूपमा हेर्नु जरुरी छ। सजायले डर त पैदा गर्न सक्छ, तर समाधान विश्वास, संवाद र समयमै गरिने सहयोगले मात्र सम्भव हुन्छ।

आज हामीले यो सङ्कटलाई गम्भीरतापूर्वक नलिने हो भने भोलि पछुताउने समय पनि रहने छैन। बालबालिका बचाउनु भनेको देशको भविष्य जोगाउनु हो।

लागू पदार्थ नियन्त्रण कार्य राष्ट्रिय चुनौतीको विषय हो। त्यसैले यो समस्यालाई राष्ट्रिय बहसको विषय बनाएर उच्चतम प्राथमिकतामा राखिनुपर्छ। हालसम्म गरिएका प्रयासहरू पर्याप्त हुन सकेका छैनन्। लागू औषध प्रयोगकर्ता क्रमशः बढोत्तरी हुँदै जानुले निश्चित रूपमा कतै न कतै कमजोरी रहेको पुष्टि गर्छ। लागू औषध नियन्त्रणका लागि माग घटाउने, आपूर्ति घटाउने र क्षति न्यूनीकरण गर्ने तीनवटै रणनीतिहरूलाई प्रभावकारी र व्यापक बनाउन जरुरी छ। प्राप्त भएका ऐन, कानुन, नियम र निर्देशिकालाई बन्द दराजमा थन्काएर कार्यक्रमका लागि मात्र कार्यक्रम गर्दा समस्या जस्ताको तस्तै रहन्छ।

स्थानीय पालिकाले समय छँदै नेपाल सरकार, गृह मन्त्रालयले लागू औषध नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई पठाएको ‘मार्गदर्शन २०७६’ (मिति २०७६/०१/३१, च.नं. ७५४) कार्यान्वयनमा ल्याउनुपर्छ। हालसम्म कार्यान्वयन नहुनु, पालिकाको चासो नहुनु र गुरुयोजना नबन्नुले नै दुर्व्यसन वृद्धिमा सहयोग पुगेको छ। यसमा पालिका, सचेत नागरिक र प्रशासनको ध्यान पुग्न जरुरी छ। यस्तो मानवीय संवेदनशीलताको विषयलाई नजरअन्दाज गर्नु हुँदैन। नीति, योजना, कार्यक्रम र बजेटमा समन्वयात्मक रूपमा निरोधात्मक कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ। विज्ञको राय सुझाव लिई लागू पदार्थबाट बालबालिकाको भविष्य खोस्न दिनु हुँदैन। बालबालिकाको भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा कर्तव्य हो।

इन्द्र प्रसाद ओली अध्यक्ष / प्रमुख प्रशिक्षक चेतना नेपाल

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च