फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशको सम्पूर्ण ध्यान पूर्वी नेपालको एउटा निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ- झापा क्षेत्र नम्बर ५।
सधैं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुरक्षित गढ’ मानिने यो क्षेत्र यसपटक भने मुलुककै ‘इलेक्सन इपिसेन्टर’ बनेको छ। कारण हो काठमाडौंका मेयर हुँदै राष्ट्रिय राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) को चुनौती।
बालेनको ‘वार रुम’ तयार : मनोनयन अघि नै झापा झर्दै
काठमाडौं हल्लाएर राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएका बालेनको चर्चा अब भाषणमा मात्र सीमित छैन, उनले झापा–५ मा आफ्नो ‘ग्राउन्ड अपरेसन’ सुरु गरिसकेका छन्।
- दमकमा डेरा फिक्स: बिहीबार झापा आइपुगेको बालेनको कोर टिमले दमक–५ मा चुनावी कमान्ड सेन्टर (डेरा) पक्का गरेको छ।
- कसको घर ? रास्वपा नेतृ विन्दु सिटौला ‘लक्की’ को घरलाई बालेनको मुख्य चुनावी केन्द्र बनाइने भएको छ। विन्दु रास्वपाको समानुपातिक सूचीको ‘प्राइमरी’ मा सहभागी नेतृ हुन्।
- थप तयारी: बालेनको सचिवालयका अनुसार ‘हेभीवेट’ प्रतिस्पर्धाका लागि एउटा घर मात्र पर्याप्त नहुने हुँदा अन्य स्थानमा पनि सम्पर्क कार्यालयको खोजी भइरहेको छ। बालेन स्वयं मनोनयन दर्ताको अघिल्लो दिन नै झापा ओर्लिने तयारीमा छन्।
‘बालेन भर्सेस ओली’ : पुस्ता र शैलीको लडाइँ
दमकका चिया पसलदेखि गौरीगन्जका चोकसम्म र फेसबुकको भित्तादेखि टिकटकसम्म अहिले एउटै बहस छ बालेन कि ओली ?
यो प्रतिस्पर्धा केवल दुई नेताबीचको मात्र होइन; यो दुई फरक पुस्ता, फरक राजनीतिक शैली र फरक दृष्टिकोणबीचको महासंग्राम हो। दमक बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख मोहन भण्डारी भन्छन्, ‘‘यो निर्वाचन मनोवैज्ञानिक रूपमा असाधारण छ। मतदातामा ‘ओलीलाई हराउनकै लागि बालेन यहाँ आएका हुन्’ भन्ने बुझाइ छ, जसले प्रतिस्पर्धालाई निकै रोचक र कडा बनाएको छ।’’
एमालेको दाबी– ‘यो हाम्रो किल्ला हो’
एमाले भने बालेनको आगमनलाई सामान्य रूपमा लिँदै आफ्नो विरासत जोगाउनेमा ढुक्क देखिन्छ। ०४८ सालदेखि (०६४ बाहेक) ६ पटक चुनाव जितेका ओलीलाई यसपटक पनि दमक नगर समितिले सर्वसम्मत सिफारिस गरेको छ।
एमाले झापा अध्यक्ष प्रेम गिरी कडा शब्दमा भन्छन्, ‘‘अध्यक्षज्यूले यहीँबाट चुनाव लड्नुहुन्छ। कसैको इसारामा सिँगौरी खेल्न आएका व्यक्तिका कारण हामी डराउँदैनौँ। संगठन र जनसमर्थनको बलमा हामी विगतभन्दा धेरै मतान्तरले जित्नेछौँ।’’
रास्वपाको हुंकार– ‘निर्णायक खेल अब सुरु भयो’
यता, रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक भने बालेनको उम्मेदवारीले पार्टीमा नयाँ रक्तसञ्चार भएको बताउँछन्। ‘‘हामीले पहिला स्वर्णिम वाग्लेलाई उठाउन खोजेका थियौँ, तर बालेन आउँदा त्योभन्दा राम्रो भयो,’’ पाठक भन्छन्, ‘‘झापा–५ अब परिवर्तनको इपिसेन्टर बन्नेछ।’’
के भन्छ चुनावी अंकगणित ?
०७९ को निर्वाचन र अहिलेको अवस्थालाई दाँज्दा रोचक तथ्यांक देखिन्छ:
| विवरण | संख्या/मत | कैफियत |
| केपी ओली (०७९ जित) | ५२,३१९ | फराकिलो मतान्तर |
| निकटतम प्रतिस्पर्धी (काँग्रेस) | २३,७४३ | खगेन्द्र पाण्डव अधिकारी |
| रास्वपा (०७९) | ११,७५९ | सुरेशकुमार पोखरेल |
| नयाँ थपिएका मतदाता | ९,०९० | निर्णायक हुन सक्ने |
| कुल मतदाता (हाल) | १,६३,३७९ |
रोचक पक्ष: ०७९ मा यहाँ रास्वपाले समानुपातिकतर्फ १८,२०५ मत ल्याएको थियो। अहिले थपिएका ९ हजार नयाँ मतदाता (जसमध्ये धेरै युवा छन्) र बालेनको ‘क्रेज’ मिसिँदा ओलीको ५२ हजारको विरासत भत्काउन बालेनलाई कति सहज होला? त्यो भने फागुन २१ को नतिजाले नै बताउनेछ।



















