बर्ने / बर्ने युथ क्लबको आयोजनामा “आफ्नो गाउँ आफैँ सफा गरौँ” तथा “सार्वजनिक र सांस्कृतिक स्थलको मर्यादा कायम राखौँ” भन्ने नाराका साथ सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बुद्धशान्ति गाउँपालिका–४ स्थित पिपल चोकबाट सुरु भएको कार्यक्रम मन्दिर चोकका विभिन्न मन्दिर परिसरहरूको सरसफाइ गर्दै हापेन चोकमा पुगेर सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात क्लबका सचिव विशाल ढुंगेलले स्वागत मन्तव्यसहित गर्नुभएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, श्री माध्यमिक विद्यालय बर्ने, मुना मदन एकेडेमी, ब्राइट फ्युचर इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीहरू, मानव धर्म सेवा समिति तथा किरातेश्वर शिव मन्दिरका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सामग्री तथा प्राथमिक उपचारको व्यवस्था गरिएको थियो। साथै, सवारी आवागमन व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय बुधबारे तथा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस टिमाईका सुरक्षाकर्मीहरूको सहयोग रहेको थियो। कार्यक्रमको अन्त्यमा क्लबका उपाध्यक्ष अमर श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभएको थियो।





















