झापा/ नेपालको सार्वजनिक ऋण साढे २८ खर्बमाथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म सार्वजनिक ऋण आकार २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ ।
गत आव अन्तिम (असार मसान्त) सम्म सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड बराबर थियो । चालु आव ७ महिनामा सार्वजनिक ऋण ह्वात्तै बढ्नुमा नेपालले थप लिएको सार्वजनिक ऋणसँगै नेपाली मुद्रा कमजोर हुँदा परेको भारसमेत हो ।
कार्यालयका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सार्वजनिक ऋणमा ९२ अर्ब ९६ करोड बराबर अतिरिक्त भार थपिएको छ । यस्तो भार वाह्य ऋणमाथि पर्छ ।
माघ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड पुगेको छ । वाह्य ऋण दायित्व १५ खर्ब ९ अर्ब हाराहारी पुगेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा सार्वजनिक ऋण आकार ४६.८१ प्रतिशत पुगेको छ । जसमा वाह्य ऋणभार २४.७२ र आन्तरिक ऋण २२.०९ प्रतिशत छ ।
७ महिनामै ६० प्रतिशत उठ्यो आन्तरिक ऋण, वाह्य ऋण परिचालन कमजोर
नेपाल वाह्य ऋण प्राप्तिको लक्ष्य ठूलो राखे पनि प्राप्ति गर्न असफल मुलुक हो । ७ महिनामा वाह्यतर्फ लक्ष्यको १६.१८ प्रतिशतमात्र ऋण उठेको छ । अर्थात्, यस वर्ष सरकारले २ खर्ब ३३ अर्ब रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य राखेको छ । माघसम्म ३७ अर्ब ८१ करोडमात्र परिचालन गरिएको छ ।
त्यस्तै आन्तरिकतर्फ भने माघसम्म ६०.१३ प्रतिशत परिचालन भइसकेको छ । यस वर्ष ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण परिचालन लक्ष्य छ । कुल परिचालन भएको सार्वजनिक ऋणमा ८५.२० प्रतिशत आन्तरिक र १४.८० प्रतिशतमात्र वाह्य ऋण हिस्सा छ ।
यस वर्ष सरकारले ६ खर्ब हाराहारी सार्वजनिक ऋण परिचालन लक्ष्य राखेकोमा माघसम्म ४२.८९ प्रतिशत परिचालन भएको छ । जुन २ खर्ब ५५ अर्ब ४८ करोड बराबर हो ।
साँवा–ब्याज भुक्तानीमा २ खर्ब बढी खर्च
७ महिना अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा मात्र २ खर्ब ३ अर्ब ६५ करोड बराबर खर्च गरिसकेको छ । यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड बजेट सोही प्रयोजनमा छुट्याइएको छ ।
माघसम्म ४९.५५ प्रतिशत भुक्तानी भइसकेको छ । माघसम्म आन्तरिक ऋणमा १ खर्ब ७० अर्ब र वाह्य ऋणको ३३ अर्ब ४ करोड साँवा भुक्तानी गरिएको छ । यस अवधिमा कुल साँवा भुक्तानी १ खर्ब ६३ अर्ब र ब्याज भुक्तानी ४० अर्ब १३ करोड बराबर भएको छ ।
साढे ६ वर्षमै दोब्बर सार्वजनिक ऋण
अर्थ मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो साढे ६ वर्षमा सार्वजनिक ऋण झन्डै दोब्बरले बढेको छ । आव २०७६/७७ सम्म मुलुकको ऋणभार १४ खर्ब ३३ अर्ब ४० करोडमात्र थियो । त्यसयता गुणात्मक वृद्धि भएको ऋण भार अहिले साढे २८ खर्ब नाघेको हो ।



















