चुनाव हुदैछ मेरो देशमा
कलिला विध्यार्थिको
रगतमा टेकेर
जसले जिते पनि
जसले हारे पनि
मेरो देशले नहारोस्
मेरो श्वास रोकिए पनि,
मेरो स्वर थाके पनि
मेरो मातृभूमिले
कहिल्यै रुनु नपरोस्।
यो माटो केवल माटो होइन,
यो शहिदको न्यानो रगत हो
जसले स्वतन्त्रताको
अक्षर कोरेको थियो।
यो धुलो होइन,
यो इतिहास हो
अमर सिंह र बलभद्र जस्ता
विर योद्धाको
रगतले लेखिएको
साहसको बन्धकि हो।
यो नदिमा बग्ने
पानी होइन ,
शहिदको रगत हो
आमाको चोली भिजाउने
शहिदको नासो हो।
मेरो देशले कहिले नहारोस्
भोकसँग,
गरिबिसँग
भ्रष्टाचारसँग,
झुटो आश्वासन को
व्यापारसँग।
जसले सपनालाई
नोटमा साट्छ,
जसले भविष्यलाई
कुर्सीमा बाँध्छ,
जसले युवाको हातमा
सीप होइन
केवल नाराको
जञ्जाल थमाउछ
त्यो अन्धकारसँग
मेरो देश नहारोस्।
हामी मौन बस्यौं भने
इतिहास फेरि दोहोरिन्छ,
हामी उठ्यौं भने
भविष्य फेरि लेखिन्छ।
मेरो देशले नहारोस्
कायर नेतासँग
विदेशी छायासँग
आफ्नै साहसको
उज्यालोमा
मेरो देश उभियोस्।
यो देश केवल
नक्साको रेखा होइन,
यो हाम्रा पुर्खाको
पसिना हो
रगतको बलिदानी हो
हामि सबैको सपना हो।
यदि आवश्यक परे
कलम उठाऔं,
आवाज उठाऔं,
सडक उठाऔं,
तर सत्य नझुकाऔं।
मेरो देशले नहारोस्
किनकि देश हार्दा
केवल सिमा हराउँदैन,
हाम्रो इतिहास हराउँछ
आत्मा हराउछ ।
हामी जिउँदो रहेसम्म
यो माटोको
इज्जत बचाउने
हाम्रो कर्तव्य हो
आकाश फाटे पनि,
धर्ती चिरिए पनि,
मेरो देशले नहारोस् !



















