झापा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे क्षेत्र यतिबेला रंगीचंगी गुराँस ढकमक्क फुलेर दुलहीझैं सिंगारिएको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण बनेको यस क्षेत्र अहिले पर्यटकले खचाखच भरिएको छ ।
गुराँसको राजधानीका रूपमा चिनिने टीएमजेमा बढी मात्रामा आन्तरिक र कम मात्रामा बाह्य पर्यटकहरूको घुइँचो लाग्दा होटलहरू भरिभराउ भएका छन् भने हजारौं पर्यटक बास नपाएर फर्किन बाध्य भएका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थलका रूपमा रहेको टीएमजे क्षेत्रमा चैत महिनाको मध्यदेखि वैशाखसम्मको समय भ्रमणका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।
चैतदेखि जेठसम्मको अवधिमा फुल्ने गुराँसले जंगललाई रंगीन बनाउने गुराँसले पहाडलाई राताम्य, पहेँलो, गुलाबी र सेताम्य रंगले सजाउँछ । तेह्रथुमको वसन्तपुरबाट सुरु हुने टिएमजेको घुर्बिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके, जोरपोखरी हुँदै ताप्लेजुङसम्म फैलिएको छ । यस क्षेत्रमा पाइने गुराँसका बन, बीच–बीचमा भेटिने लामपोखरी, गुफापोखरी लगायत साना–ठूला पोखरीले पर्यटकलाई थप लोभ्याउने गर्छन् ।
गुराँस फुलेसँगै बसन्तपुर चोत्लुङ पार्कदेखि टुटे देउराली, आरआर गार्डेन, डुँडपानी, घुर्बिसे, पाथिभरा आसपास, पाँचपोखरी तथा गुफा क्षेत्रसम्म पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको छ । यस वर्ष पर्याप्त वर्षा र अनुकूल मौसमका कारण गुराँस अघिल्लो वर्षको तुलनामा बढी फुलेको स्थानीय बताउँछन् ।
गुराँसको यही आकर्षणले पर्यटकको चाप ह्वात्तै बढाएको हो । वसन्तपुरस्थित होटल हिमालयनकी सञ्चालिका सुशीला पौडेलका अनुसार दैनिक तीन सयभन्दा बढी पर्यटकलाई कोठा अभावकै कारण फर्काउनुपरेको छ । ‘पछिल्ला २१ दिनदेखि निरन्तर अत्यधिक चाप छ’, उनी भन्छिन्, ‘आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ, थोरै मात्रामा भारतीय पर्यटक पनि आएका छन् ।’

पछिल्लो समय नेपाली समाजमा घुम्ने संस्कृतिको विकास हुँदै जाँदा आन्तरिक पर्यटन फस्टाउँदै गएको देखिन्छ । यही प्रवृत्तिको प्रभाव टीएमजे क्षेत्रमा स्पष्ट देखिएको छ ।
होटल एसोसिएसन तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार विशेषगरी बिदाका दिनमा अत्यधिक भीड हुने गरेको छ। ‘चैत २२ गतेपछि त होटल व्यवसायीलाई सास फेर्ने फुर्सद छैन’, उनले भने, ‘तराइबाट अर्थात आन्तरिक पर्यटक धेरै मात्रामा आएका छन्, भारतका नगन्य देखिए पनि तेस्रो मुलुकका पर्यटक भने आएको देखिएको छैन ।’
गुराँस हेर्न वा टीएमजेमा रमाउन आएका पर्यटकले सो क्षेत्रमा मात्रै नभइ तेह्रथुमको सदरमुकाम म्याङलुङ, लसुने, जिरी तथा धनकुटाको हिले, पाख्रिबास र सिधुवाका होटलहरु समेत भरिएका छन् । ती क्षेत्रका होटलहरुको दैनिक करिब १५ हजार मानिस अटाउने क्षमता भए पनि करिब ३ हजारभन्दा बढी पर्यटक दैनिक बास नपाएर फर्किन बाध्य भएको बताइएको छ ।



















