काठमाडौं । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्म सार्वजनिक ऋण आकार ३० खर्ब नजिक पुगेको हो ।
चालु आव वैशाख मसान्तसम्म सार्वजनिक ऋणमा ५ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँ बराबर भार थप भएको छ । सोही अवधिमा २ खर्ब ३१ अर्ब ९२ करोड बराबर भुक्तानी भएको छ । सोहीकारण १० महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ३ खर्ब ९९ करोड बराबर भएको कार्यालयको तथ्यांक छ ।
गत आव अन्तिम अर्थात् असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो । वैशाख मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड र वाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड पुगेको छ ।
वाह्य ऋणमा यस वर्ष अतिरिक्त चाप अमेरिकी डलर बलियो हुँदा परेको छ । विनियम दरका कारण वाह्य ऋणमा थप १ खर्ब ६७ अर्ब ७५ करोड दायित्व थप भएको छ ।
सरकारले यस अवधिमा परिचालन गरेको खुद ऋण भने ३ खर्ब ६५ अर्ब १६ करोडमात्र हो । बाँकी भार विनिमय दरका कारण परेको कार्यालयले जनाएको छ ।
वैशाखसम्म कति पुग्यो सार्वजनिक ऋण ?
आन्तरिक : १३ खर्ब ८१ अर्ब
वाह्य : १५ खर्ब ९३ अर्ब
कुल : २९ अर्ब ७५ अर्ब
जीडीपीको नयाँ आकारले सार्वजनिक ऋण अनुपात घट्यो
कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा वैशाखसम्म सार्वजनिक ऋण ४५.०८ प्रतिशत बराबर देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १५ वैशाख २०८३ का दिन सार्वजनिक गरेको जीडीपीको आकार लिएर सार्वजनिक ऋणको तुलना गरिएको हो ।



















