प्रतिनिधि सभामा नियमावली संशोधनको माग : सांसद नीता घतानीद्वारा बोल्ने समय बढाउन प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित झापाकी सांसद नीता घतानीले संसदमा जनताको आवाज प्रभावकारी रूपमा उठाउन बोल्ने समय वृद्धि गर्न माग गरेकी छन्।

प्रतिनिधि सभा नियमावली संशोधन सम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्दै सांसद घतानीले चुनावी अभियानका क्रममा संसदमा जनताको आवाज नरोकिने र माइक नकाटिने प्रतिबद्धता गरिएको स्मरण गराइन्।

EPIC EPIC EPIC

“फागुन २१ गतेको निर्वाचन प्रचारप्रसारलाई स्मरण गराउन चाहन्छु। झापा–२ का एक उम्मेदवारले जनतासँग मत माग्दै भन्नुभएको थियो– हामी नेकपा एमालेका सभामुख हुँदा जस्तो माइक काटिँदैन, हामी जनताको आवाज बोल्न दिन्छौँ,” उनले भनिन्।

त्यो केवल चुनावी भाषण मात्र नभई जनतासामु गरिएको प्रतिबद्धता भएको उल्लेख गर्दै उनले त्यतिबेला धेरै नेताहरूले यही कुरा दोहोर्‍याएको र सदनसमेत ताली र टेबल ठोकाइले गुञ्जिएको स्मरण गरिन्।

तर व्यवहारमा भने जनताको आवाज उठाउन खोज्ने सांसदहरू समयको सीमाभित्र बाँधिएको उनको गुनासो थियो। “माइक काटिँदैन भन्दै मत माग्नेकै आवाज पटक–पटक रोकियो। जनताको आवाज बोल्न खोज्ने माननीयहरू समयको घेराभित्र थुनिए,” उनले भनिन्।

सांसद घतानीले समस्या कसको माइक काटियो वा काटिएन भन्ने नभई जनताको आवाज उठाउन निर्वाचित प्रतिनिधिहरूले आफ्नो कुरा पूरा राख्न नपाउने अवस्था सिर्जना हुनु रहेको बताइन्।

“यदि जनताको आवाज काटिँदैन भनेर मत मागिन्छ तर संसदमा जनताको आवाज राख्न पर्याप्त समय दिइँदैन भने त्यो लोकतन्त्रका लागि सुखद संकेत होइन,” उनले भनिन्।

उनले शून्य समयलाई हालको चार चरणबाट पाँच चरणमा विभाजन गर्न, एक मिनेटको समयसीमा कम्तीमा दुई मिनेट बनाउन तथा विशेष समय र आकस्मिक समयको अवधि पनि वृद्धि गर्न प्रस्ताव गरिन्।

“जनताका समस्या बढिरहेका छन्, तर बोल्ने समय बढेको छैन,” उनले भनिन्।

स्वर्गीय दमननाथ ढुंगानाको भनाइ स्मरण गर्दै सांसद घतानीले “सरकार सत्तापक्षको हुन सक्छ, तर सदन प्रतिपक्षको हो” भन्दै प्रतिपक्षको आवाज सीमित गर्ने अधिकार कसैलाई नभएको बताइन्।

संसद जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनताका विषयलाई नै उच्च प्राथमिकता दिनुपर्ने उनको धारणा थियो। शून्य समय, विशेष समय र आकस्मिक समयलाई अझ प्रभावकारी बनाउँदै जनताका विषय उठाउने अवसर विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो संशोधन प्रस्तावमाथि पुनर्विचार गर्न आग्रह गरिन्।

“जनताको आवाजलाई समयको साङ्लोले बाँध्ने होइन, अझ फराकिलो बनाउने दायित्व हाम्रो हो,” सांसद घतानीले भनिन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च