बुद्धशान्ति(पालिका सन्देश)। बुधबारे जेसीजको आयोजनामा बुद्धशान्ति क्षेत्रका महिलाहरुलाई नेतृत्व तथा व्यक्तित्व बिकास तालिम दिइएको छ । श निबार बुद्धशान्ति–१ स्थित सीतारमेश बहुमुखी क्याम्पसको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।

महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित तालिममा नेपाल जेसीजकी पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक जेसी रश्मी शिल्पकारले सहजीकरण गर्दै प्रभावकारी प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले नेतृत्व, प्रभावकारी सञ्चार, आत्मविश्वास निर्माण तथा व्यक्तित्व विकासका विविध पक्षबारे प्रशिक्षण दिएकी थिइन् ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काले महिलाहरूको सशक्तीकरणका लागि यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै समाज परिवर्तनमा महिलाको नेतृत्वदायी भूमिका अझ सशक्त बन्नुपर्ने बताएकी छिन् । कार्यक्रममा विभिन्न महिला समूह, सामाजिक संघसंस्थाका प्रतिनिधि, जेसीज पदाधिकारी, पूर्वअध्यक्ष, मानार्थ सदस्य तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बुधबारे जेसीका अध्यक्ष कुशल अधिकारीको अध्यक्षता तथा कार्यक्रम संयोजक गजुहाङ योङहाङ्गको संयोजकत्वमा भएको कार्यक्रममा जेसी कृष्ण ढकालले आस्था पाठ वाचन गरेका थिए भने जेसी नवराज कोइरालाले जेसीज मिसन ,भिजन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विनोद रिजालले गरेका थिए ।

बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रशिक्षक, सहभागी, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार यो कार्यक्रम बुधबारे जेसीजका लागि महिला नेतृत्व विकासतर्फको एक महत्वपूर्ण र स्मरणीय कार्यक्रमका रूपमा स्थापित भएको बताए ।



















