काठमाडौं । उत्तर अमेरिकाका तीन राष्ट्र (अमेरिका, मेक्सिको र क्यानडा)मा भइरहेको फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा भएको छ ।

आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागेको हो ।
पहिलो पटक विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा समूह चरणमा अहिलेसम्मकै धेरै ७२ खेलहरु भए ।
समूह चरणका ७२ खेल सकिएपछि १२ समूहका समूह विजेता र उपविजेता गरी २४ र उत्कृष्ट तेस्रो ८ टोली गरी ३२ टोलीले समूह चरण पार गर्दै विश्वकपमा यात्रा अघि बढाएका हुन् ।
नकआउट चरणको पहिलो खुड्किलोको रुपमा रहेको राउण्ड अफ ३२ यस पटक नयाँ थपिएको राउण्ड पनि हो ।
साविक विजेता अर्जेन्टिना, साविक उपविजेता फ्रान्स, पूर्व विजेताहरु ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्डसँगै उपाधिको दाबेदारको रुपमा रहेका पोर्चुगल, नेदरल्यान्ड्स जस्ता टोलीहरु राउण्ड अफ ३२ मा पुगेका छन् ।
तर पहिलो संस्करणसहित दुई पटकको विजेता उरुग्वे भने समूह चरणमा जितविहीन रहँदै बाहिरिएको छ ।
सन् १९३० र १९५० को विजेता उरुग्वे समूह चरणमा जितविहीन रहँदै बाहिरिएको छ । अर्कोतर्फ तीनवटै सह-आयोजक राष्ट्रहरू (अमेरिका, मेक्सिको र क्यानडा) नकआउट चरणमा पुग्न सफल भएका छन् ।
पहिलो पटक सहआयोजकको रुपमा विश्वकप आयोजना गरेको क्यानडाले यस पटक घरेलु मैदानमै इतिहास रच्ने क्रममा विश्वकपमा पहिलो अंक र पहिलो जित समेत निकाल्दै पहिलो पटक नकआउट चरणमा स्थान बनाएको हो ।
विश्वकपमा पुनरागमन गरेका नर्वे, बोस्निया एण्ड हर्जगोभिना र दक्षिण अफ्रिका पनि राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् । अफ्रिकी जायन्ट्स आइभरी कोस्टले पहिलो पटक नकआउट यात्रा तय गर्दा, यसै विश्वकपमा डेब्यु गरेको केप भर्डे समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेर सबैलाई आश्चर्यचकित पारेको छ । अन्य डेब्युट्यान्ट टोलीहरू कुरासाओ, उज्वेकिस्तान र जोर्डन भने समूह चरणबाटै बाहिरिए ।
नकआउट चरणमा युरोप र अफ्रिकन टोलीको दबदबा रहँदा एसियाबाट भने धेरै टोली समूह चरणबाटै बाहिरिएका छन् । एसियन पावर हाउस जापानसँगै एसियन कोटाबाट खेल्ने अस्ट्रेलियाले पनि राउण्ड अफ ३२ मा स्थान बनाएको छ ।
यस विश्वकपमा चार नयाँ टोलीले डेब्यु गरेकोमा केप भर्डेले मात्र नकआउट चरणमा स्थान बनाउँदा अन्य तीन टोली कुरासाओ, उज्वेकिस्तान र जोर्डन भने समूहको अन्तिममा रहँदै बाहिरिएका छन् । तीनै टोली जितविहीन रहे ।
यस पटक समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाए । जसमा डीआर कंगो, स्वीडेन, घाना, इक्वेडर, बोस्निया एण्ड हर्जगोभिना, पाराग्वे, सेनेगेल र अल्जेरिया छन् । तेस्रो हुने अन्य ४ टोली इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे भने बाहिरिए । नकआउट चरणमा पुगेको सेनेगल समान ३ अंक भएपनि इरान, दक्षिण कोरिया र स्कटल्यान्ड गोल अन्तरमा पछि पर्दा उरुग्वेले भने २ अंक मात्र जोड्न सकेको थियो ।
कुन महादेशबाट कति टोली नकआउटमा?
यस पटक विश्वकपमा टिम संख्या बढाएर ४८ पुर्याउँदा विभिन्न महादेको कोटा पनि बढेको थियो । त्यसमा युरोपबाट सर्वाधिक १६, अफ्रिकाबाट १० र एसियाबाट ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस्तै उत्तर र दक्षिण अमेरिकाबाट समान ६ र ओसियानाबाट १ टोलीको सहभागिता थियो ।
तर नकआउट चरणमा भने युरोप र अफ्रिकी टोलीहरुकै वर्चस्व रहेको छ । युरोपको १६ मध्ये सर्वाधिक १२ टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।
यस्तै अफ्रिकाबाट १० मध्ये ९ टोली नकआउट चरणमा प्रवेश गरे । अफ्रिकाबाट दक्षिण अफ्रिका, मोरक्को, आइभरी कोस्ट, इजिप्ट, केप भर्डे, सेनेगल, डिआर कंगो, घाना, अल्जेरिया नकआउट चरणमा पुग्दा ट्युनिसिया मात्रै बाहिरियो ।
दक्षिण अमेरिकाबाट ६ मध्ये ५ टोली नकआउट चरणमा पुग्दा उत्तर अमेरिकाको भने टिममध्ये आयोजक तीन टोली (अमेरिका, मेक्सिको र क्यानडा) मात्र नकआउट चरणमा पुग्न सफल भए ।
दक्षिण अमेरिकाको साविक विजेता अर्जेन्टिनासहित ब्राजिल, कोलम्बिया, इक्वेडर र पाराग्वेले नकआउटमा स्थान बनाउँदा पूर्व विजेता उरुग्वे मात्र बाहिरियो ।
यस पटक एसियाबाट पनि टिम संख्या बढेर ९ पुगेको थियो । समूह चरणको सुरुवातमा एसियन टोलीले राम्रो प्रदर्शन गरेपनि नकआउट चरणमा भने एसियाबाट जापान र अस्ट्रेलिया दुई टोली मात्र पुगे । अस्ट्रेलियाले एसियन कोटाबाट विश्वकप खेल्दै आएको छ ।
राम्रो सुरुवात गरेर पनि दक्षिण कोरिया, इरान जस्ता टिम नकआउट चरणमा पुग्न असफल रहे ।
ओसियानाबाट एक मात्र टिम न्युजिल्यान्डले प्रतिस्पर्धा गरेकोमा समूह चरणबाटै बाहिरियो ।
महादेश अनुसार छनोट भएका टिमहरु:
युरोप : १३
अफ्रिका : ९
दक्षिण अमेरिका : ५
उत्तर अमेरिका : ३
एसिया : २
कुन समूहबाट कुन–कुन टिम नकआउट चरणमा पुगे?
समूह ए : मेक्सिको, दक्षिण अफ्रिका
समूह बी : स्विट्जरल्यान्ड, क्यानडा, बोस्निया एण्ड हर्जगाेभिना
समूह सी : ब्राजिल, मोरक्को
समूह डी : अमेरिका, अस्ट्रेलिया, पाराग्वे
समूह इ : जर्मनी, आइभरीकोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, स्वीडेन
समूह जी : बेल्जियम, इजिप्ट
समूह एच : स्पेन, केप भर्डे
समूह आइ : फ्रान्स, नर्वे, सेनेगल
समूह जे : अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया
समूह के : पोर्चुगल, कोलम्बिया, डिआर कंगो
समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना
राउण्ड अफ ३२ को समीकरण
नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ का खेलहरु हुनेछन् । जसमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित हुने टोली बाहिरिनेछ । नकआउट चरणमा पराजित टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ ।
नकआउट चरणको पहिलो खेल दक्षिण अफ्रिका र सहआयोजक क्यानडाबीच सोमबार बिहान हुनेछ ।
राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता बिहान १२:४५ बजे (दक्षिण अफ्रिका भर्सेस क्यानडा)
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राति २२:४५ बजे (ब्राजिल भर्सेस जापान)
असार १६ गते (जून ३०)
समूह इ को विजेता भर्सेस समूह डी को तेस्रो टोली विहान २:१५ बजे (जर्मनी भर्सेस पाराग्वे)
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६:४५ बजे (नेदरल्यान्ड्स भर्सेस मोरक्को)
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती २२:४५ बजे (आइभरी कोस्ट भर्सेस नर्वे)
असार १७ गते (जुलाई १)
समूह आईको विजेता भर्सेस समूह एफ को तेस्रो टोली विहान २:४५ बजे (फ्रान्स भर्सेस स्वीडेन)
समूह ए को विजेता भर्सेस समूह इ को तेस्रो टोली विहान ६:४५ बजे (मेक्सिको भर्सेस इक्वेडर)
समूह एलको विजेता भर्सेस समूह के को तेस्रो टोली राती २१:४५ बजे (इंग्ल्यान्ड भर्सेस डीआर कंगो)
असार १८ गते (जुलाई २)
समूह जी को विजेता भर्सेस समूह आई को तेस्रो टोली विहान १:४५ बजे (बेल्जिया भसेस सेनेगेल)
समूह डी को विजेता भर्सेस समूह बी को तेस्रो टोली विहान ५:४५ बजे (अमेरिका भर्सेस बोस्निया)
असार १९ गते (जुलाई ३)
समूह एचको विजेता भर्सेस समूह जे को उपविजेता विहान १२:४५ बजे (स्पेन भर्सेस अस्ट्रिया)
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता विहान ४:४५ बजे (पोर्चुगल भर्सेस क्रोएसिया)
समूह बी को विजेता भर्सेस समूह जे को तेस्रो टोली विहान ८:४५ बजे (स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया)
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११:४५ बजे (अस्ट्रेलिया भर्सेस इजिप्ट)
असार २० गते (जुलाई ४)
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता विहान ३:४५ बजे (अर्जेन्टिना भर्सेस केप भर्डे)
समूह के को विजेता भर्सेस समूह एल को तेस्रो टोली विहान ७:१५ बजे (कोलम्बिया भर्सेस घाना)



















