झापा (पालिका सन्देश) । पछिल्लो समय स्वास्थ्य बीमा नवीकरण नगर्नेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले हालसम्म झन्डै ७० लाख नागरिक सक्रिय बिमित रहेको बताए । यस्तै, कुल बिमितको सङ्ख्या झन्डै एक करोड ८ लाख छ । यसरी हेर्दा नवीकरण नगर्नेको सङ्ख्या झन्डै ३८ लाख देखिन्छ । बोर्डका अनुसार ४० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गरेका छैनन् ।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । देशभर ४२५ वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था तोकिएका छन् । बोर्डको अद्यावधिक विवरण अनुसार सन् २०१६ मा बिमितको सङ्ख्या ३२ हजार थियो । सन् २०२४ मा बिमितको सङ्ख्या ५६ लाख ८० हजार पुगेको थियो । यसरी हेर्दा बीमा गर्ने कुल वृद्धिदर १७८ हुन आउँछ, तर नवीकरण गर्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।
बोर्डले स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्या उत्साहजनक भए पनि नवीकरणमा ठुलो चुनौती रहेको औँल्याएको छ । बोर्डले उपलब्ध गराएको तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वर्ष २०८१÷०८२ मा कुल बिमित सङ्ख्या ९८ लाख ७४ हजार ४१५ जना थियो । यही आर्थिक वर्षमा नवीकरण गर्नेको सङ्ख्या अर्थात् सक्रिय बिमितको सङ्ख्या ५९ लाख ७० हजार ४०३ थियो । यसरी कुल बिमितमध्ये करिब ६० प्रतिशतमात्र सक्रिय देखिन्छन् । ४० प्रतिशत बिमितहरूले आफ्नो बीमा नवीकरण नगरेको देखिन्छ । जसले गर्दा कार्यक्रमको दिगोपनामा प्रश्न खडा गरेको बोर्डको विश्लेषण छ ।
बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले आवश्यकता परेको बेलामात्रै नागरिकले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेको बताइन् । उनले भनिन्, अप्रेसन गर्ने बेलामात्रै बीमा नवीकरण गर्नुहुन्छ । उपचार ग¥यो, सकियो ।’ बोर्डका सूचना अधिकारी मल्लले पछिल्लो समय नवीकरण गर्ने दर घटेको बताए । उनले भने, ‘६० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गर्छन् । ४० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिन्छ । हाल निजी अस्पतालमा आकस्मिक सेवामा मात्रै बीमा सेवा उपलब्धता छ । सरकारी अस्पतालमा भिडभाड छ । बीमा कार्यक्रम लागु भएका कतिपय अस्पतालमा औषधिको अभाव देखिएको गुनासो आउँछ । बिमितहरूले स्वास्थ्य सेवा प्राप्त गर्न झन्झटिलो प्रक्रिया छ । औषधि नभएको, सेवा प्रभावकारी नभएको गुनासो हामीकहाँ पनि आउँछ । त्यही भएर पनि नवीकरण गर्नेहरूको सङ्ख्या घटेको हुन सक्छ ।’
बोर्डका अनुसार आफूले चाहिएको बेलामात्रै नवीकरण गर्ने, आवश्यकता नपरेर पनि नवीकरण नगर्ने देखिएको छ । बोर्डका एक अधिकारी भन्छन्, ‘पालिकाले पनि छुट्टै बीमा गर्छ, तर पालिकाले त्यसको अद्यावधिक नगरिदिँदा पनि नवीकरण हुनेको सङ्ख्या घटेको हुन सक्छ । आम सर्वसाधारणलाई नवीकरण कहिले हुन्छ भन्ने थाहा नभएर पनि वा सूचना नपाएको पनि हुन सक्छ ।’



















