काठमाडौं । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयरगिभर) का लागि पासपोर्टको म्याद कम्तीमा १ वर्ष भएकाले आवेदन दिन पाउने भएका छन् । आवेदन दिने प्रयोजनका लागि मात्रै वैदेशिक रोजगार विभागले पासपोर्टको म्याद न्यूनमत एक वर्षको हुनुपर्ने जनाएको हो ।
तर, पछि छनोटमा परेर इजरायल जानुपर्ने भएमा भने कम्तीमा ३ वर्षको म्याद हुनुपर्ने विभागले जनाएको छ । विभागका प्रवक्ता बिन्दा आचार्यले आवेदन दिनका लागि मात्रै पासपोर्टको म्याद कम्तीमा एक वर्षको हुनुपर्ने बताइन ।
‘आवेदन दिनका लागि पासपोर्टको म्याद कम्तिमा १ वर्षको हुनुपर्छ, त्योभन्दा कम भएर हुँदैन । बढीमा जति भए पनि भयो,’ प्रवक्ता आचार्यले भनिन् । तर, आवेदनपछि छनोटमा परेर इजरायल जानेको हकमा भने पासपोर्टको म्याद कम्तिमा ३ वर्षको हुनुपर्ने आचार्यको भनाइ छ ।
विभागले २ हजार ३ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको छ । आवेदन दिने म्याद आगामी असार ७ गते राति १२ बजेसम्म रहेको छ ।
विभागका अनुसार शुक्रबारसम्म आवेदन दिनेहरूको संख्या १४ हजार नाघेको छ ।
सरकारी स्तरबाट वैदेशिक रोजगारीमा पठाइने तलब तथा अन्य सेवा सुविधाका हिसावले राम्रो मानिएको छ । यो पटक खुलेको आवेदन अनुसार छनोट भएर जाने केयरगिभरले मासिक ३ लाख रूपैयाँ भन्दा बढी तलब पाउनेछन् ।



















