झापा । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले सवारी दुर्घटनाका नाममा घाइतेलाई नियतवश गाडी ‘ब्याक’ गरेर मार्ने प्रवृत्ति बढेको भन्दै यस्तो अपराधलाई रोक्न तत्काल कानुन संशोधन गर्न सरकारसँग माग गरेकी छन् । आइतबार संसद्को आकस्मिक समयमा बोल्दै सांसद रानामगरले झापाको बिर्तामोडमा घटेको पछिल्लो हृदयविदारक घटनाप्रति कडा आक्रोश व्यक्त गरिन् ।
रानामगरले झापा क्षेत्र नम्बर २, बिर्तामोड नगरपालिका ३ स्थित अधुवा खोला पुलमा १० वर्षीया बालिका अनुकृति चापागाईँलाई टिपरले ठक्कर दिएको घटनाबारे सदनलाई जानकारी गराइन् । उनले टिपरले सुरुमा ठक्कर दिएर घाइते बनाएपछि चालकले नियतवश गाडी ‘ब्याक’ गरेर बालिकाको हत्या गरेका थिए। ‘यस्तो घटना बारम्बार दोहोरिएको छ, दुर्घटनाको संज्ञा दिएर केस मिलाउने काम भइरहेको छ, यो अत्यन्तै दुःखद र लज्जास्पद विषय हो,’ उनले भनिन् ।
यस्ता जघन्य कार्यलाई निरुत्साहित गर्न नेपाल सरकारले कुन ऐन र नियममा संशोधन गर्न तत्काल प्रक्रिया अघि बढाउन अनुरोध गरिन् । घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय दिन र यस्ता प्रवृत्तिको अन्त्य गर्न सरकारलाई रानाले आग्रह गरिन् ।
सांसद रानामगरले विभिन्न ‘भलाई कोष’ वा अन्य समूहका नाममा पीडित परिवारलाई थर्काउने, गुन्डागर्दी गर्ने र अपराधीको संरक्षण गर्ने गिरोह सक्रिय रहेको दाबी गरिन् । ‘पीडितको परिवारलाई धम्क्याउने र गुन्डागर्दी गर्ने गृह समूहलाई गृह मन्त्रालयले तत्काल कारबाही गर्नुपर्छ,’ उनले भनिन् ।



















