झापा। बुधबार बिहान सडक दुर्घटनामा परेर एकै गाउँका तीन जना युवाको मृत्यु भएपछि झापाको कमल गाउँपालिका–४ अमलडागी शोकमा परेको छ । मृतकका आफन्तहरुका अनुसार स्थानीय तीन जना युवा बिहानपख दोमुखामा पौडी खेल्ने योजनासहित घरबाट निस्केका थिए ।
बिहान ५ः३० बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा कमल गाउँपालिका–४ अमलडागी निवासी २० वर्षीय युनिस भण्डारी, १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो । दुर्घनाको विषयमा अनुसन्धान भइरहेको पनि चन्दले जानकारी दिनु भयो ।
तीनै जनालाई स्थानीयको सहयोगमा प्रहरीले बिएण्डसी अस्पताल पुर्याएको थियो । तर चिकित्सकले अस्पताल पुर्याउन साथ तीनै जनालाई मृत घोषणा गरेका थिए ।
सनाखतका लागि कमल गाँउपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने लगायत बिएण्डसी अस्पताल पुग्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारीका अनुसार अहिले सो गाउँ शोकमग्न बनेको छ । गोरखापत्र