बुद्धशान्ति । बजार अभावका कारण झापाका कागती किसान निराश बन्न थालेका छन् । भारतबाट आयात हुने सस्तो कागतीसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी कागती बिक्री हुन छाडेको किसानहरूको गुनासो छ ।
गौरादह–४ का किसान नविन आचार्यले १४ कठ्ठामा कागती खेती गरे पनि उत्पादनले उचित मूल्य नपाउँदा खेतीको निरन्तरतामै अन्योल सिर्जना भएको बताउनुभयो। किसानहरूले कागतीबाट अचार, चुक अमिलोलगायत मूल्य अभिवृद्धि गर्ने उद्योग र न्यूनतम समर्थन मूल्यको व्यवस्था गर्न माग गरेका छन् ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा कागती खेतीको क्षेत्रफल ३१० हेक्टरबाट घटेर २७० हेक्टरमा पुगेको छ । स्थानीय खपतले मात्र उत्पादन धान्न नसक्ने भएकाले प्रभावकारी बजार व्यवस्थापन आवश्यक रहेको केन्द्रको भनाइ छ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा र गौरादहलगायत क्षेत्रमा किसानहरूले गाउँ–सहर डुलेर कागती बेच्न बाध्य भएको बताएका छन् ।



















