- सोमबारदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा ६० जना, बागमतीमा १ जना, कर्णालीमा ७ जना, लुम्बिनीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो ।
त्यस्तै बाढीपहिरोमा परी ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश १ मा १९ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा १७ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी प्रदेश १ मा १३ जना, प्रदेश २ मा १ जना, लुम्बिनीमा ३ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
१ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घरपरिवार विस्थापित भएका छन् ।
बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।