बुद्धशान्ति (पालिका सन्देश) । बुद्धशान्ति गाउँपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई आफूले लिएको कर्जा समयमै चुक्ता गर्न आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै नेपाल सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेश, सहकारी विभाग तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निर्देशनअनुसार सहकारी क्षेत्रलाई व्यबस्थित र सदस्यको बचत सुरक्षित बनाउन यस्तो आग्रह गरिएको जनाएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज साहले हस्ताक्षर गरेको सूचनामा सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूले आफूले लिएको ऋण तथा ब्याज तोकिएको अवधिभित्र बुझाउनुपर्ने उल्लेख गरिएको छ । ऋण नतिर्दा सहकारीको वित्तीय अवस्था कमजोर हुने, बचतकर्ताको रकम फिर्ता गर्न समस्या उत्पन्न हुने तथा समग्र सहकारी प्रणालीमा नकारात्मक असर पर्ने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाले सहकारी संस्थाका सञ्चालक, व्यबस्थापक तथा सम्बन्धित पक्षलाई प्रचलित कानुन, नियम र मापदण्डको पालना गर्दै ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै, ऋणी सदस्यहरूलाई सम्बन्धित सहकारी संस्थासँग समन्वय गरी यथाशीघ्र कर्जा चुक्ता गर्न अनुरोध गरिएको छ । गाउँपालिकाले सहकारी क्षेत्रको स्थायित्व, बचतकर्ताको हित संरक्षण तथा वित्तीय अनुशासन कायम राख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको जनाएको छ ।



















