साहसिक यात्राका लागि कञ्चनजङ्घा हिमाल पर्यटकको पहिलो रोजाइमा

फुङ्लिङ (ताप्लेजुङ)। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। विशेष गरी साहसिक यात्रा, पदयात्रा (ट्रेकिङ) र हिमाल आरोहणका लागि यो क्षेत्र विदेशी पर्यटकहरूको पहिलो रोजाइमा पर्न थालेको छ र पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ।

हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको छ। उनीहरूले सेभेन समिट ट्रेक्समार्फत यो आरोहण सम्पन्न गरेका हुन्। सफल आरोहण गर्नेहरूमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा रहेका छन्। इलाइट एक्सपिडिसन काठमाडौंका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ जना आरोही र पथप्रदर्शकहरू हाल कञ्चनजङ्घा हिमाल आरोहणका लागि त्यहाँ उपस्थित छन्।

EPIC EPIC EPIC

कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरतर्फ पनि विदेशी पर्यटकहरूको आकर्षण बढ्दो छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी, चार इजरायली, दुई बेलायती र दुई नेदरल्याण्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिणी आधार शिविरको भ्रमण गरेका छन्। कञ्चनजङ्घाको उत्तरी आधार शिविरतर्फ पनि पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको छ। घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म तीन सय ६० जना विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन्।

यसरी कञ्चनजङ्घा क्षेत्र विदेशी पर्यटकहरूका लागि मात्र नभई आन्तरिक पर्यटकहरूको पनि रोजाइमा पर्न थालेको छ। यद्यपि आन्तरिक पर्यटकहरूको विस्तृत तथ्याङ्क भने कार्यालयहरूमा अभिलेख गरिएको छैन। कञ्चनजङ्घा हिमाल समुद्र सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ। यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतया दुईवटा आधार शिविरहरू रहेका छन् – दक्षिण आधार शिविर (पाङपेमा) र उत्तरी आधार शिविर (ओक्ताङ)।

उत्तरी आधार शिविर (ओक्ताङ): उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ। त्यसपछि जापनटारबाट तीन दिनको पदयात्रापछि घुन्सा गाउँ पुगिन्छ। घुन्सा गाउँबाट थप तीन दिन पैदल हिँडेपछि पाँच हजार २०० मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो। घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे र पर्यटक विश्रामस्थलहरू सञ्चालनमा रहेका छन्, जसले पर्यटकहरूको बसोबासलाई सहज बनाएको छ।

दक्षिण आधार शिविर (पाङपेमा): दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारीसाधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ। त्यसपछि तीन दिनको पदयात्रा गरेपछि चार हजार ८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिणी क्षेत्रको अन्तिम आधार शिविर हो। यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।

हिमाल आरोहणकर्ताहरूले आधार शिविरमा केही दिन शारीरिक अनुकूलताका लागि अभ्यास गर्छन् र त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतिर यात्रा गर्छन्। सफल आरोहणका लागि पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ। प्राविधिक हिसाबले कञ्चनजङ्घा हिमाल नेपालका अन्य आठ हजार मिटर अग्ला हिमालहरूमध्ये सबैभन्दा कठिन मानिन्छ। बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिम आदिले यसलाई चुनौतीपूर्ण बनाउँछन्। त्यसैले यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्च स्तरको तयारी आवश्यक पर्ने बताइन्छ। गत साता मात्र हिमाल आरोहणका क्रममा एक फ्रान्सका नागरिकको मृत्यु पनि भएको थियो।

नेपालको पूर्वी क्षेत्रमा अवस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरव मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो। प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा पर्यटन आकर्षणलाई अझ बढाउने सम्भावना देखिएको छ। यदि यस क्षेत्रमा सञ्चार र पूर्वाधारलाई थप व्यवस्थित गरिएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटन तथा ट्रेकिङको उत्कृष्ट गन्तव्य बन्न सक्छ। पदयात्रा मार्गमा नयाँ होमस्टे, बाटोमा सङ्केत चिह्न, प्राथमिक उपचार केन्द्र तथा आपत्कालीन उद्धार सेवा विस्तार भएमा अझ बढी पर्यटकहरू भ्रमणका लागि आउने निश्चित छ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ। होमस्टे सञ्चालन, पथप्रदर्शक, भरिया, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च