अज्ञात समूहद्वारा जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरेको छ ।
कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।
‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए’, उनले भने, ‘आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।’
आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ ।