गङ्गाराम गड्तौला
बुद्धशान्ति । जेठ १० । बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईंले पदभार ग्रहणलगत्तै पहिलो निर्णय सुनाएका छन्। अध्यक्ष प्रसाईंले बालविकासका विद्यार्थीलाई थप १० रुपियाँको दरले खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअघि सरकारले खाजाका लागि प्रति विद्यार्थी रु. १५ उपलब्ध गराउँदै आएको छ। अध्यक्षको घोषणासँगै अब पालिकाभरका सबै सामुदायिक विद्यालयका बालविकास पढ्ने नानीले खाजाका लागि प्रतिदिन २५ रुपियाँ पाउने छन्।
नीतिगत रूपमा अध्यक्ष प्रसाईंको यो निर्णय स्वागतयोग्य छ। बालबालिकाको लागि २५ रुपियाँको खाजा पर्याप्त हुन्छ। तर यसको कार्यान्वयन पक्ष कति व्यावहारिक छ ? मनन गर्नु आवश्यक छ। विद्यालयहरूले नानीहरूको खाजा बजारका होटेलहरूबाट उपलब्ध गराउँदै आएका छन् कि ! त्यो कति स्वस्थकर हुन्छ? होटल वा खाजा घर सञ्चालकले बालस्वास्थ्यको ख्याल गर्छन्-गर्दैनन् ? पोषणको मात्रा मिलाएर दिन्छन्-दिँदैनन् ? खानामा सन्तुलन छ-छैन ? यी विषयमा सरोकारवालाले अनुगमन गर्नु जरुरी छ।
आजका बालबालिका कफल्ला छन् । तिनले सानोतिनो शीत-ताप र असन्तुलन पचाउन सक्दैनन्। हरेक दिनजसो नानीहरू बिरामी परिरहेका हुन्छन्। अभिभावकले समेत बिरामी हुनुको कारण खोज्दैनन् । बिरामी हुनेबित्तिकै नजिकको मेडिकलबाट औषधि लिएर सेवन गराउँछन्। यसरी हरेकजसो घरमा बच्चा बिरामी हुने समस्या रहेको छ।
बच्चा बिरामी हुने प्रमुख कारण खाना हो भन्ने कुरा सचेत अभिभावकले पनि बुझेका छैनन्। बजारका रसायनयुक्त खाजाका कारण ९० प्रतिशत बढी रोग लाग्छन्। हामी ठुला मानिसले सहजै पचाउने खाना समेत बालबालिकाको लागि उपयुक्त हुँदैन। तर बजारमा बच्चा र वयस्कका लागि भनेर छुट्टाछुट्टै खाजाको व्यवस्था छैन।
खाजा घरका सञ्चालकले व्यापार गरेका हुन्। तिनले बजारको मागलाई ध्यानमा राखेर खाजा तयार गरेका हुन्छन्। बालकको स्वास्थ्यको ख्याल अभिभावक, विद्यालय वा सरकारले गर्ने हो। बालबालिकाको खाजा स्वस्थकर, सन्तुलित एवं सफा र ताजा हुन जरुरी छ। खानाका सन्दर्भमा उसले के चाहन्छ होइन, उसलाई के चाहिन्छ भन्ने बुझ्नुपर्छ। सोहीअनुसार बालकको उमेर, स्वास्थ्य अवस्था, तौल, तथा उचाइलाई समेत ध्यान राखेर खाजा दिनु उचित हुन्छ।
सरकारले घोषणा गरेको छ। कार्यान्वयन विद्यालयले गर्ने हो । बालबालिका देशका कर्णधार हुन्। देशका भावी सन्तति स्वस्थ होउन्। तिनले उमेर अनुसार स्वास्थ्य वर्धक खाना खान पाउन् । सरकारको लगानी खेर नजाओस्। सबैले विचार गरौं ।