काठमाडौं। नेपालमा आजको मितिसम्म कुनै पनि नयाँ फिल्म प्रदर्शन गर्न अथवा प्रदर्शन मिति घोषणा गर्न कसैको अनुमति लिनु पर्दैन । यद्यपि, केन्द्रिय जाँचपास समितिबाट सेन्सर पास भएको अनुमति भने लिनु पर्छ ।
तर, अब भने सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन गर्दा चलचित्र निर्माता संघको स्वीकृति लिनै पर्ने भएको छ । आज भएको छलफलमा चलचित्र निर्माता संघ तथा फिल्म प्रदर्शकहरुको संस्था चलचित्र संघको कार्यदलले यस विषयमा सहमति जनाएको छ ।
सहमति अनुसार अबदेखि नयाँ नेपाली फिल्म प्रदर्शन गर्नुअघि निर्माता संघ र चलचित्र संघमा अनिवार्य दर्ता हुनुपर्ने छ । कार्यदलका सदस्य गोपाल कायस्थका अनुसार अब स्वतन्त्र रुपमा कसैले पनि सिनेमा हलमा आफ्नो फिल्म आफू खुशी प्रदर्शन गर्न पाउने छैन ।
कार्यदलले एकै मितिमा दुई भन्दा बढी फिल्म रिलिज गर्न नपाइने अहिलेको नियमलाई समेत खारेज गर्ने सहमति जुटाएको छ । कायस्थका अनुसार खुला बजारको अवधारणा अनुसार एकै मितिमा अब दुई भन्दा बढी पनि फिल्म रिलिज हुन पाउने छन् । कार्यदलमा निर्माता संघको तर्फबाट उदय सुब्बा संयोजक तथा चलचित्र संघबाट कायस्थ सदस्यको रुपमा रहेका छन् ।