Search
Close this search box.
Search
Close this search box.

अभिकर्ताले प्रयोग गर्नै नहुने शब्दहरू

  • गङ्गाराम गड्तौला,

यतिखेर नेपालमा जीवन बिमा व्यवसाय फस्टाएको छ । साधारण ज्याला मजदुरी गर्नेदेखि लिएर ठुला ठुला व्यापार व्यवसाय गर्ने समेतले यसको महत्त्व र आवश्यकता बुझ्न थालेका छन् । बिमाप्रति धेरैको चासो बढ्दै गएको पाइन्छ । ९ वटा कम्पनी मात्र सञ्चालन भईरहँदा सीमित अभिकर्ता र सीमित बिमित रहेको अवस्था थियो ।

आज १० वटा नयाँ कम्पनी थपिएपछि  यस व्यवसायमा अभिकर्ताको बाढी नै आएको छ । कतिपय कम्पनीको रणनीति हेर्दा ‘एक घर एक अभिकर्ता’ बनाउन खोजेको हो कि भन्ने भान पर्दछ । कम्पनीले आफूलाई स्थापित गर्ने नाउँमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेकाले पनि यसो भएको हो । परिणामतः अदक्ष, सामाजिक सम्बन्ध कम भएका तथा नेटवर्किङ व्यवसायमा लागेका व्यक्तिहरू समेत अभिकर्ता बनेका छन् । नैतिकता, आदर्श तथा सामाजिक सेवाको भावना नभएका र आफ्नो आर्थिक हैसियतलाई मात्र लक्ष्य बनाएर बिमामा होमिएका अभिकर्ताहरूले अन्ततः यस व्यवसायलाई नै दाग लगाउने निश्चित छ । कम्पनीहरूले आवश्यक प्रक्रिया पुरा नगरी अभिकर्ता थप्ने गरेका छन् । बिमा ऐन, नियम, आचार संहिता तथा नियमावलीको ज्ञान नभएका अभिकर्ताले बिमा त गराउँछन् तर त्यसले भविष्यमा कम्पनी र बिमितलाई बेफाइदा पुग्छ ।

अभिकर्ताले ‘जसरी भए पनि’ प्रिमियम सङ्कलन गर्ने उद्देश्य राखेका छन् । यसो भएपछि बिमितको आर्थिक सुरक्षा, कम्पनीको स्थायित्व तथा बिमा व्यवसायको दिगोपना भन्दा पनि अभिकर्ताको छिटै धनी हुने चाहना हाबी हुन्छ । भोलि यसको परिणाम कस्तो रहला भन्नेतर्फ अभिकर्ताको ध्यान जा“दैन । बिमकले पनि अभिकर्ताले ल्याएको प्रिमियममा कुनै किसिमको अध्ययन विश्लेषण नगरी बिमा काटिदिन्छ । यसो हुनाले राष्ट्रिय विकासमा अहं भूमिका निर्वाह गर्नसक्ने बिमा क्षेत्र कलङ्कित बन्न पुग्छ ।

आज पनि नेपालीको बिमाप्रतिको धारणा गलत छ । यसो हुनुको प्रमुख कारण अभिकर्ता नै हुन् । अभिकर्ताले आफ्नो मात्र फाइदा हेर्ने गरेकाले यसो हुन गएको हो । बिमा कम्पनीका खम्बाका रूपमा रहेका अभिकर्ताहरू स्वयं दक्ष हुनु जरुरी छ । सामाजिक भावनाको विकास हुनु आवश्यक छ । यसै सन्दर्भमा बिमा क्षेत्रमा प्रयोग गर्नै नहुने तर अभिकर्ताले निरन्तर प्रयोग गरिरहने केही शब्दको यहाँ चर्चा गरिने छ :

‘मरेपछि’

धेरैजसो अभिकर्ताले बिमितकहाँ गएर प्रयोग गर्ने शब्द हो मरेपछि । अर्थात् तपाईं मरेपछि यति पाउनु हुनेछ । साधारण मृत्यु भयो भने बिमाङ्क रकम र दुर्घटनामा मृत्यु भएमा बिमाङ्कको दोब्बर । मानवीय संवेदनालाई छुने यस्तो शब्दले मानिसलाई अभिप्रेरित होइन, निरुत्साहित गर्दछ । भलै तिनले बिमा गर्लान् तर बिमाप्रतिको धारणा गलत बस्छ । संसारमा कुनै पनि त्यस्तो व्यक्ति नहोला जो आफ्नो मृत्युको कुरा सुनोस् । यसैले भन्नुपर्ने कुरा त्यही भए पनि यसलाई घुमाउरो पाराले प्रस्तुत गर्न सक्नुपर्दछ । दोस्रो कुरा बिमा मरेपछि मात्रै फाइदा हुने व्यवसाय होइन । यो त आफू जीवित रहँदै प्रयोग गर्न पाइने बचतको प्रतिफल हो । 

‘मेरा लागि’

अभिकर्ताहरू आफ्ना आफन्त, नातेदार वा छिमेकमा गएर बिमा प्रस्ताव राख्छन् । बिमाबारे बुझाउनुभन्दा पनि उनीहरू ‘कृपया मेरा लागि यति गरिदिनुहोला’ भन्ने गर्छन् । अभिकर्ताज्यूहरू, तपाईंको यो सूत्रले काम गर्दैन । किनकि तपाईं आफैं विचार गर्नुहोस् त, आफ्ना बाबु–आमा, दाजुभाइ, दिदी बहिनीसित त तपाईं सय रुपियाँको हिसाब गनी गनी लिनुहुन्छ । अनि बिमितले तपाईंका लागि हजारौं रुपियाँ लगानी गर्लान् ? आफूलाई पनि फर्केर हेरौं । तपाईंले अरूका लागि के गर्नुभएको छ ? कृपा गरेर ‘गरिदिएको’ बिमाले तपाईंलाई जीवनभरि काम लाग्ने छैन । यो तत्कालका लागि मात्रै हुनेछ । भोलि तपाईंले केही समय बिमा गरेर आफ्नो जीवनशैली माथि उकास्नुभयो । घर बनाउनुभयो वा कार किन्नुभयो भने तिनले भन्नेछन् — उः हामीले बिमा गरिदिएकाले आज ऊ कार चढ्ने भयो । 

‘डब्बल’

अभिकर्ताले बढी प्रयोग गर्ने अर्को शब्द हो डब्बल । अर्थात् तपाईंले आज १० लाखको बिमा गर्नुभयो भने १५ वा २० वर्षपछि डब्बल हुनेछ । यस विषमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । कुनै व्यक्तिले एउटा कम्पनीमा १५ वर्षअघि १ लाखको बिमा गरेका रहेछन् । बिमा गराउने व्यक्ति सामुदायिक विद्यालयका प्रअ थिए । तिनले बिमितलाई १५ वर्षपछि दोब्बर आउने कुरा गरेका रहेछन् । गत साउनमा उनको बिमा अवधि सकियो । आफूले जम्मा गरेको रकम हिसाब गरेछन् । १ लाख ३३ हजार जम्मा गरेका रहेछन् । उनलाई बिमा कम्पनीले १ लाख ६९ हजार रुपियाँ मात्रै भुक्तानी ग¥यो । 

हेडसरलाई थाहा थियो थिएन । तर आज आम अभिकर्ताको सोच तिनै हेडसरको जस्तो छ । आः १५ वर्षपछि जे त होला । आखिर १५ वर्ष पुग्न धेरै समय लागेन । दोब्बर भयो त ? 

डबल मात्र होइन । बिमितले ३ देखि ४ गुना रकम पाउँछन् । तर बिमा योजनाको किसिम, समयको अवधि तथा बिमितको उमेर आदिको विश्लेषण गर्नुपर्दछ ।

‘तिर्नुपर्छ’

तपाईंले बिमालाई यति तिर्नुपर्छ । यति तिरेपछि यति आउँछ । बिमितले सुरुमै ऋण खाएको हो र तिर्नलाई ? उसले बिमालाई तिरेको होइन । जम्मा गरेको हो । आफ्नो बचत हो । लामो समय बचत गरेबापत बिमा कम्पनीले बिमितको जोखिम बहन गरेको हुन्छ । हामीले बारम्बार तिर्नुपर्छ भनिरहँदा बिमितलाई नकारात्मक असर पर्छ । यसरी बिमितले जम्मा गरेको रकमलाई तिर्ने भन्नु पनि बिमा अभिकर्ताको कमजोरी हो ।

‘बोनस’

कतिपय अभिकर्ताले कम्पनीको हालको बोनस दरलाई आफ्नो व्यापार बढाउने सू त्रका रूपमा प्रयोग गर्छन् । हाम्रो कम्पनीको यति बोनस छ । बिस वर्षपछि यति हुनेछ । यसबाट तपाईंको रकम यति बढ्नेछ भनेर आकर्षण दिन्छन् । तर त्यसको प्रिमियम कति छ, जोखिम बहन कति छ भन्ने विषयमा तिनले कुरा गर्दैनन् । बोनस दर उच्च देखाएर प्रिमियम सस्तो बनाउन जोखिम घटाउनुपर्ने हुन्छ । यसो गर्दा बिमित अन्यायमा परेको हुन्छ । भोलि बिमितले यस कुराको सुइँको पाउँछ । त्यस बेला हामी अभिकर्तालाई नै अप्ठेरो पर्दछ । 

सामान्यतया बिमाका अभिकर्ताहरूले यी माथिका शब्द प्रयोग गर्नै हुँदैन । शब्द ब्रह्म हो । शब्दमा व्यक्तिको जीवन परिवर्तन गर्ने शक्ति हुन्छ । कसैको एक शब्दले कसैलाई मृत्युको मुखमा पु¥याइदिन्छ । कुनै मर्न लागेको मानिसलाई कसैको एक शब्दले बचाइदिन्छ । बिमितमा पनि हामीले प्रयोग गर्ने शब्दले प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पार्दछ । अतः शब्द प्रयोगमा ध्यान दिऔं । सकारात्मक शब्द प्रयोग गर्ने बानी बसालौं । 

( लेखक एजेन्सी म्यानेजर, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, बिर्तामोड शाखामा कार्यरत हुनुहुन्छ ।)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *