काठमाडौं । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा अहिले बिहानैदेखिको मौसममा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
आज राति यी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । राति पनि पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।
वर्षासँगै हिमपात पनि भएर देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।