काठमाडौं । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कताअपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन यता राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागिरहेको छ ।
माैसमविद्हरूले अधिकतम र न्यूनतम तापक्रम घट्दै गएकोले चिसो थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । घट्दो क्रममा रहेको अधिकतम र न्यूनतम तापक्रमबीचको दूरी बढेमा बढी चिसो महसुस हुने गर्छ ।
महाशाखाका अनुसार आज प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरिएको छ ।अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै गण्डकी प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जारी सूचनामा उल्लेख छ ।महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।