Search
Close this search box.
Search
Close this search box.

आज फाल्गुनन्द जयन्ती: प्रदेश १ मा सार्वजनिक विदा

झापा । आज मंगलबार प्रदेश १ मा सार्वजनिक विदा परेको छ । फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशभरीका लागि सार्वजनिक विदा तोकिएको हो ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमलबहादुर थापाले फाल्गुनन्द जयन्तीको दिन प्रदेशभरी विदा दिने निर्णय अगाडिका वर्षहरुमा नै भएको जानकारी दिनुभयो । उहाँले सार्वजनिक विदाबारे राजपत्र र प्रदेश क्यालेन्डरमा उल्लेख गरिएको बताउनुभयो ।

को हुन् फाल्गुनन्द ?
किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदैछन्।

नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसं १९८८ वैशाख २५ गते पाँचथरको लब्रेकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो। यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’का रूपमा चिनिन्छ।

करिब ८ दशकअघि किरात समुदायका अगुवाहरूलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउनु पक्कै पनि सामान्य थिएन।

“न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्द नामबाट भर्ती भएका थिए।”

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतका नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, सिरिजंगा लिपि प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधार अभियान चलाएका थिए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर फाल्गुनन्दले लैंगिक समानताको वकालत गरेका थिए।

समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंसमति र बुवा जगनबाज लिम्बूको साहिला सन्तानका रूपमा जन्म भएको थियो। उनी ८ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए।

न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्द नामबाट भर्ती भएका थिए। बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ, झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागिरबाट राजीनामा दिई धार्मिक सुधार अभियानमा लागेका थिए। यस क्रममा उनी भारत र भुटानसम्म पुगेको बताइन्छ।

नेपाल सरकारले विसं २०५० मा महागुरु फाल्गुनन्दका नाममा सम्मान स्वरूप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुगेका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरूका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *