Search
Close this search box.
Search
Close this search box.

आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइँदै

१९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न मंगलबार भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन् ।

मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ । दिवसको सन्दर्भमा पुस २८ देखि माघ १५ सम्म सरकारी निकाय, सङ्घसंस्थाहरू सँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिए ।

१९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए। ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएको थियो ।  

यसैगरी २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख बढी आवासमा क्षति पुगेको थियो । वरिष्ठ भूकम्पविद् अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय  जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे ।

‘पछिल्लो जाजरकोट, बझाङ र डोटीको भूकम्पदेखि विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म तयारी राम्रो पुगेको छैन भन्ने कुरा हाम्रो वर्तमान पूर्वतयारीको अवस्थाले देखाउँछ,’ उनले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *