दिपेश राजवंशी,
भद्रपुर, पुस १९।
बिगतका वर्षहरूझैं यस वर्ष पनि आठौं संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी शुरू भएको छ। हरेक वर्ष पुस २९ गते राजवंशी, ताजपुरिया, गनगाइ, माझी लगायतका समुदायले यो दिन भव्यताका साथ भाक्का दिवस मनाउने गरेका छन्।
वि.सं. २०७४ देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया, ठाकुर, गनगाइ, माझी लगायतका समुदायको संस्कार, संस्कृति तथा मौलिक परिकारहरूको संरक्षण गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वभर उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पुस २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो। त्यसयता झापा, मोरङ, सुनसरी र संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा एकसाथ विभिन्न कार्यक्रम गरी भाक्का दिवस भव्यताका साथ मनाइँदै आएको छ।
सुरुदेखि नै भाक्का दिवसलाई भव्य बनाउन देश तथा विदेशका कलाकार, अतिथि एवं सर्वसाधारणको उल्लेखनीय साथ पाइँदै आएको छ। यसै परम्परालाई निरन्तरता दिँदै राजवंशी समाज विकास समितिले झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आठौं संस्करणको भाक्का दिवस २०८१ आयोजना गर्दैछ।
राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार यस वर्षको कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई सम्मान गरिनेछ। साथै, कार्यक्रममा नेपालकी लोकप्रिय गायिका रचना रिमाल, भारतीय कलाकार र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति हुनेछ। व्यवसायिक सेफहरूले तयार पारेका भाक्का, माछा लगायतका परिकारहरूको निःशुल्क वितरण, राजवंशी संस्कृतिसँग सम्बन्धित लोक गरगहना, पहिरन तथा लोक बाजाको प्रदर्शनी हुनेछ। आयोजकका अनुसार कार्यक्रममा हजारौं भारतीय पाहुनासहित ५०,००० भन्दा बढी मानिसको उपस्थिति रहनेछ भने झन्डै ३०,००० मानिसले भाक्का स्वाद लिने अनुमान गरिएको छ।
पूर्वी तराईका आदिवासी राजवंशी समुदायमा जाडो छल्न छोरी-चेलीलाई घर बोलाएर तथा अन्य पाहुनालाई भाक्का र ब्वाली माछा ख्वाउने परम्परा परापूर्वकालदेखि चलिआएको छ। पछिल्लो समय जाडोयाममा भाक्का हरेक शहर र गल्लीका व्यवसायिक परिकार बनेका छन्। विशेषगरी जाडो मौसममा सबै उमेर समूहले मन पराउने भाक्का अहिले ठूला तारे होटलहरूको मेनुमा समेत स्थान पाइरहेको छ।