सुनसरी । इटहरीमा म्याजिकले ठक्कर दिँदा आइतबार मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको थियो ।
दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र श्रीमती ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिक नम्बर तत्काल पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।