बुद्धशान्ति
बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा झापा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिन थालेका छन् ।
आज मध्याह्न १२ बजेसम्ममा उपाध्यक्ष र वडाअध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले राजिनामा दिइसकेका छन् । निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुअघि राजिनामा दिनुपर्ने भएपछि २०७४ मा निवार्चित जनप्रतिनिधिहरुले धमाधम पदबाट राजिनामा दिन थालेका हुन् ।
हालसम्म गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल,वडा नम्बर ७का वडाध्यक्ष मातृकाप्रसाद पौडेलले राजिनामा दिइसकेका छन्।
उपाध्यक्ष भुर्तेल नेकपा एमालेबाट अध्यक्ष पदका लागी दाबेदार हुन भने वडाध्यक्ष पौडेल सोहि पदका लागि उम्मेदवारी दिने चर्चा छ।
यस्तै कार्यपालिका सदस्यहरु रोहित तोलाङ्गी र दुर्गा पोख्रेलले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्।
तोलाङ्गी वडा नम्बर ५मा अध्यक्ष पदकालागि नेकपा एमालेबाट दाबेदार मानिएका छन् भने पोख्रेल वडा ४ को वडासदस्यमा उम्मेदवारी दिने तयारीमा छिन।
त्यस्तै वडा नम्बर २ का वडासदस्य नेत्र गौतम, वडा३ का पर्शुराम चेमजोङ, ४ का फौदराज शेर्मा, वडा ५ का डेगेन्द्र कार्की , देउमाया दर्नाल र रिता चौधरी, वडा ६ कि रेखा मग्रान्ती र वडा ७ का मातृकाप्रसाद निरौलाले राजिनामा दिएका हुन् ।
गौतम,चेमजोङ,शेर्मा र कार्की आ-आफ्ना वडामा अध्यक्ष पदका लागि दावेदार मानिएका छन्।
निर्वाचन आयोगले भोली आइतबार र पर्सि सोमबार मनोनयन दर्ता गर्ने समय तोकेको छ ।
आइतबार मनोनयन दर्ता गर्नको लागि भिडभाड हुने र समय नपुग्ने भएकोले राजिनामा स्वीकृत गर्न आज शनिबार पनि गाउँपालिकाको कार्यलय खुल्ला रहेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए।
जनप्रतिनिधिले अध्यक्ष भुजेललाई राजिनामा बुझाउने, अध्यक्षले तोक लगाउने र निर्वाचन आयोग समक्ष निस्सा बुझाउनुपर्ने ब्यवस्था छ।
राजिनामा पत्रसँगै उनिहरुले सवारीसाधन, सिम, मोबाईल र ल्यापटप पनि गाउँपालिका बुझाउनु पर्ने प्रावधान छ।