Search
Close this search box.
Search
Close this search box.

एकल पुरुषलाई मासिक एक हजार भत्ता

इलाम। एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ ।

देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।
देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा १९७ जना एकल पुरुषले ५ लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आर्थिक वर्षमा एकल पुरुष भत्ताका लागि २८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताए । ‘सङ्घीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले एकल पुरुषलाई पनि भत्ता दिन थाल्यौँ,’ नगरप्रमुख पोख्रेलले भने, ‘यसले एकल महिला र एकल पुरुष दुवैलाई जीवन सहज बनाउन थोरै भए पनि सहयोग मिलेको छ ।’
अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता

त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रोलिङ्गीलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु १० लाख ५६ हजार पाएका छन् ।
चालु आर्थिक वर्षमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरू भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *