Search
Close this search box.
Search
Close this search box.

कक्षा १२ को परीक्षा : कोरोना पोजेटिभले निको भएको १५ दिनपछि परीक्षा दिन पाउने

काठमाडौँ। मंसिर ९ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु हुँदैछ। त्यसका लागि परीक्षा तालिका सार्वजनिक भइसकेको छ भने राष्ट्रिय परीक्षा बोर्डले तयारी तीव्र पारेको छ। 

कोरोना महामारीको समयमा हुनलागेको कक्षा १२ को परीक्षाका लागि देशभर ४,५०० परीक्षा केन्द्र कायम गरिएको छ। उपत्यकाबाहिर घर नजिकको विद्यालयमा पनि परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ। तर, उपत्यकामा भने बोर्डले तोकेको परीक्षा केन्द्रमा नै गएर मात्र परीक्षा दिनुपर्नेछ। 

यो अवधिमा कोभिड–१९ पोजिटिभ वा आइसोलेनसमा बसेका विद्यार्थीले परीक्षा दिन पाउने छैनन्। उनीहरूका लागि छुट्टै व्यवस्था मिलाइनेछ। सङ्क्रमित व्यक्तिले सङ्क्रमणमुक्त भएको १५ दिनपछि परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए। 

कुनै परीक्षार्थी यो बीचमा कोरोना सङ्क्रमित भए या आइसोलेनसमा बसेको पाइए निको भएपछि परीक्षा लिने व्यवस्था मिलाइएको उनको भनाइ छ। कोभिड–१९ पोजिटिभ रिपोर्ट विद्यालयमा पेस गरेपछि त्यसको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्था मिलाइने उनले बताए। 

“सङ्क्रमित वा आइसोलेनसमा बसेका व्यक्तिलाई अहिले नै परीक्षा दिने व्यवस्था मिलाउन सकिँदैन। उनीहरूका लागि निको भएको १५ दिनपछि परीक्षा दिने व्यवस्था मिलाउँछौँ,”अध्यक्ष पौडेलले भने। 

परीक्षाका लागि स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ लागु गरिने उनको भनाइ छ। परीक्षा हलमा दुई–दुई मिटरको दूरीमा विद्यार्थीलाई राख्ने, परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिने व्यवस्था मिलाए उनको भनाइ छ। एउटा कक्षाकोठामा २० जनाभन्दा बढी विद्यार्थी राख्न पाइनेछैन। परीक्षा केन्द्रमा मास्कलगायत स्वास्थ्य सामग्री प्रयोगलाई अनिवार्य गरिएको बोर्डले जनाएको छ।

कक्षा–१२ मा ४ लाख ३३ हजार ६ सय विद्यार्थीले परीक्षाका लागि फाराम भरेका थिए। गत वैशाख ८ गतेदेखि तोकिएका परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो। अब मंसिर ९ गतेदेखि बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *