झापा। कचनकवल गाउँपालिकामा एचपिभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरु गरिएको छ। गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरूमा एकैसाथ खोप लगाउन थालिएlको हो। अभियानको उद्घाटन कचनकवल–६ स्थित बाल आधारभूत विद्यालयबाट गरिएको थियो।
उद्घाटन कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका खोपकर्मीहरूले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउन थालेका छन्। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि यो खोप महत्वपूर्ण मानिन्छ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार अभियानअन्तर्गत माघ २७ गतेसम्म खोप सेवा उपलब्ध हुनेछ। पहिलो दिन २५३ जना किशोरीलाई खोप दिइएको छ। अभियानभर पालिका भरीका २ हजार ९ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार एचपिभी खोपले किशोरीहरूको स्वास्थ्य सुरक्षा गर्दै पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरणमा मद्दत गर्नेछ। विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा निःशुल्क खोप उपलब्ध भएकाले लक्षित उमेर समूहका सबै किशोरीलाई खोप लगाउन अनुरोध गरिएको छ।