कचनकवल।
झापाको कचनकवल गाउँपालिका–७ तारावनामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
आज बिहान दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न गएका स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी गम्भीर घाइते भएकी थिइन्। उनको बायाँ हातमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको थियो। घाइते अवस्थामा उनलाई उपचारका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको थियो, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई ओम साई पाथिभारा अस्पताल रेफर गरेर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर नेहेंगी तामाङले जानकारी दिनुभयो
घटनाको समयमा केलाबत्ती राजवंशीसँग उनका ससुरा मतिलाल राजवंशी रहेकाको इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक रोहित कुमार मगरले जानकारी दिनुभयो।