बनियानी। विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्ने प्रस्तावविरुद्ध कचनकवलका किशोरीहरुले सक्रियता देखाएका छन्। जानकी मावि, कचनकवल-५ मा अध्ययनरत कक्षा ९ का छात्राहरूले महिला जनचेतना केन्द्र, मेचीनगरको अगुवाइमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीलाई ज्ञापनपत्र बुझाएका हुन्।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले विवाहको कानुनी उमेर घटाउने प्रस्ताव अघि सारेपछि यो विषय बहसको केन्द्रमा आएको छ। बाल विवाह न्यूनिकरणका लागि लामो समयदेखि क्रियाशील संघसंस्थाहरू र अभियन्ताहरूले उक्त प्रस्तावको विरोध गरिरहेका छन्।
छात्राहरूको टोलीले बुझाएको ज्ञापनपत्रमा नेपालमा विवाहको न्यूनतम कानुनी उमेर २० वर्ष कायम गर्नुपर्ने माग गरिएको छ। साथै, बाल विवाहको जोखिम अझै पनि कायम रहेको अवस्थामा उमेर घटाउनु समाजलाई उल्टो दिशामा लैजाने चेतावनी दिइएको छ।
ज्ञापनपत्र बुझाउने छात्राहरूले कम उमेरमा विवाह गर्दा किशोरीहरूको शारीरिक, मानसिक र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने बताएका छन्। “हामीले हाम्रो भविष्यको बारेमा सोच्न पाउनुपर्छ। कम उमेरमा विवाह गर्नु भनेको हाम्रो शिक्षा, करियर र स्वास्थ्यमा खतरा निम्त्याउनु हो,” एक छात्राले भनिन्।
महिला जनचेतना केन्द्रले किशोरीहरूले आफैं बाल विवाहविरुद्ध आवाज उठाउनु सकारात्मक संकेत भएको बताएको छ। “छात्राहरू नै यो अभियानमा संलग्न हुनु महत्त्वपूर्ण छ। यो अभियान उनीहरूकै भविष्यको सुरक्षाका लागि हो,” संस्थाले उल्लेख गरेको छ।
ज्ञापनपत्रमा बाल विवाह न्यूनीकरणका लागि सरकार, समुदाय र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख छ। साथै, विवाहको उमेर घटाउने प्रस्ताव फिर्ता लिन र जनचेतना अभिवृद्धि गर्न राज्यलाई प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।
