झापा । आज बिहान झापामको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी–१ धरमपुरमा काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भई पल्टिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेको टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ। दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका–३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर–४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरका आन्सा फ्यादेन, सुमना लिम्बू, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन् ।
बसका चालक झापा मेचीनगर–१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। तीव्र गतिको कारण बस अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ।